गृहपृष्ठ दौडमै भविष्य देखेका २६ वर्षीय सनम
दौडमै भविष्य देखेका २६ वर्षीय सनम
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किएका उनले आफ्नो भविष्य दौडमा देखेका छन्।
विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आएका सनमले आफ्नो अथक मिहिनेत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता हासिल गरेका छन् । उनले हालसम्म एक सयभन्दा बढी दौड प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
तनहुँसहित लमजुङ, गोरखा, स्याङ्जा, चितवन, बागलुङ र धादिङलगायत विभिन्न जिल्लामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका उनले ७० भन्दा बढी पदक जित्न सफल भएको छ । यो उनका लागिमात्र नभई आँबुखैरेनी र तनहुँ जिल्लाका लागि पनि गर्वको विषय बनेको छ ।
विशेषगरी तनहुँका विभिन्न स्थानमा आयोजित प्रतियोगितामा उनले बारम्बार प्रथम स्थान हासिल गर्दै आफ्नो पहिचान स्थापित गरेका छन् । गुरुङले सोमबारमात्रै गोरखामा आयोजित दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए । उनका अनुसार दौड प्रतियोगिताबारे जानकारी पाउन अहिले सामाजिक सञ्जाल मुख्य माध्यम बनेको छ ।
“कतिपय प्रतियोगिताको जानकारी फेसबुकजस्ता प्लेटफर्मबाट थाहा हुन्छ, कहिलेकाहीँ आयोजकले नै सम्पर्क गर्नुहुन्छ, साथीभाइले पनि खबर गर्छन्”, उनी भन्छन् । साथै विभिन्न सञ्चारमाध्यममा आउने खेलसम्बन्धी समाचार पनि उनका लागि उपयोगी स्रोत बनेका छन् ।
सनमको सफलताको पछाडि उनको परिवार, विशेषगरी आमाको महत्त्वपूर्ण भूमिका रहेको छ । उनी आमासँगै बस्दै आएको र आमाले हरेक पाइलामा साथ दिँदै उनलाई प्रेरणा दिइरहेको बताउँछन् । “आमाको साथ र विश्वासले मलाई अझ बलियो बनाएको छ”, सनम भन्छन् ।
आर्थिक दृष्टिले खेलकुद क्षेत्रमा चुनौतीहरू रहे पनि उनले पैसाभन्दा सन्तुष्टिलाई ठूलो ठानेका छन् । “दौडमै मेरो भविष्य देखेको छु । मिहिनेत गरिरहेको छु । अहिलेसम्म विदेश जाने सोच बनाएको छैन”, उनी भन्छन् । उनका लागि दौड केवल प्रतिस्पर्धामात्र होइन, जीवनको उद्देश्य र आत्मसन्तुष्टिको माध्यम बनेको छ ।
भविष्यमा अझ ठूला प्रतियोगितामा सहभागिता जनाउँदै देशको नाम उँचो बनाउने लक्ष्य राखेका सनम अहिले पनि नियमित अभ्यासमा व्यस्त छन् । आवश्यक पूर्वाधार र अवसरको अभावका बाबजुद उनले हार नमानी आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । रासस
प्रकाशित समय : १३:५८ बजे




















