global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बेलौरीमा हाटबजार पुनः सञ्चालन

बेलौरीमा हाटबजार पुनः सञ्चालन

बेलौरीमा हाटबजार पुनः सञ्चालन

कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–६ खुलामञ्च छेउमा तीन वर्षदेखि बन्द अवस्थामा रहेको हाटबजार पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आवश्यक भौतिक संरचना निर्माण तथा मर्मत गरी नयाँ व्यवस्थापनका साथ हाटबजार सञ्चालन गर्न लागिएको हो ।

नगर उपप्रमुख जोगराम चौधरीका अनुसार हाटबजार सञ्चालनका लागि आवश्यक पूर्वाधार सुधारको काम तीव्र रूपमा अघि बढाइएको छ । “हाटबजारस्थलमा १२ नयाँ प्रदर्शनी कक्ष निर्माण गरिएका छन्, पुराना ११ प्रदर्शनी कक्ष मर्मत गरिएका छन्”, उनले भने, “शौचालय सरसफाइ गरी प्रयोगयोग्य बनाइएको छ भने हाटबजार परिसरमा सरसफाइ र रङरोगनको काम पनि सम्पन्न गरिएको छ ।”

हाटबजारको भौतिक संरचना सुधार, नयाँ निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाले आठ लाख ५० हजार बजेट विनियोजन गरेको थियो भने स्थानीयको जनश्रमदानबाट एक लाख १० हजार १५७ बराबरको योगदान जुटाइएको थियो । कुल नौ लाख ६० हजार १५० को लागतमा उपभोक्ता समितिमार्फत निर्माण तथा मर्मत सम्पन्न गरिएको हो ।

उपप्रमुख चौधरीका अनुसार हाटबजार एक हप्ताभित्रै सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । “हाटबजार सञ्चालन भएपछि बेलौरी बजार क्षेत्रका १० हजारभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुनेछन्”, उनले भने । तीन वर्षअघि प्रभावकारी व्यवस्थापन अभावका कारण बन्द भएको हाटबजारलाई यसपटक व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । नयाँ व्यवस्थापनसँगै दिगो रूपमा सञ्चालन गर्ने योजना बनाएको चौधरीले बताए ।

हालसम्म बजार अभावका कारण स्थानीय किसानले आफ्ना उत्पादन टोकरीमा बोकेर गाउँगाउँ डुल्दै बिक्री गर्नुपर्ने बाध्यता थियो । हाटबजार सञ्चालनमा आएपछि यो समस्या हट्ने विश्वास गरिएको छ । किसानले एउटै स्थानमा आफ्ना कृषि उपज बिक्री गर्न पाउने भएपछि समय, श्रम र लागतमा कमी आउनेछ भने आम्दानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

“हाटबजार सञ्चालनले स्थानीय उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्नेछ”, स्थानीय किसान लवकुश चौधरीले भने, “तरकारी, फलफूल, माछा, मासुलगायत कृषि तथा पशुपन्छीजन्य उत्पादन सहज रूपमा बिक्रीवितरण हुने भएपछि स्थानीय अर्थतन्त्र चलायमान हुने देखिएको छ ।”

यससँगै भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने प्रवृत्तिमा समेत कमी आउने अपेक्षा गरिएको छ । आवश्यक वस्तु आफ्नै क्षेत्रमा उपलब्ध हुने भएपछि स्थानीय बासिन्दाले बाहिरी बजारमा निर्भर रहनु नपर्ने नगरपालिकाको विश्वास छ ।

बेलौरी नगरपालिकाभित्र यसअघि कलकत्ता, गोकुलपुर र बेलौरीमा हाटबजार सञ्चालनमा रहेका थिए । तीमध्ये हाल कलकत्ताको हाटबजारमात्र सञ्चालनमा रहेको छ भने गोकुलपुर र बेलौरीका हाटबजार बन्द अवस्थामा थिए । अब नगरपालिकाले ती बन्द हाटबजारलाई पुनः सञ्चालनमा ल्याएर किसानलाई सहजता प्रदान गर्ने योजना अघि बढाएको छ ।

प्रकाशित समय : १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु