गृहपृष्ठ सञ्चारमन्त्री तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
सञ्चारमन्त्री तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन्।
आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो।
त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। नेपालले जापानलाई विकास साझेदार मात्र नभई विश्वसनीय मित्र राष्ट्रका रूपमा हेर्दै आएको उल्लेख गर्दै उनले बदलिँदो विश्व सन्दर्भमा प्रविधि र नवप्रवर्तनमार्फत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिने बताए।
मन्त्री डा तिमिल्सिनाले नेपाल सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दूरसञ्चार सेवा विस्तार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनमैत्री बनाउन डिजिटल रूपान्तरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइएको बताए। यी क्षेत्रमा जापानको प्राविधिक सहयोग, लगानी, क्षमता विकास तथा अनुभव आदानप्रदान अत्यन्त उपयोगी हुने उनको भनाइ थियो।
मन्त्री डा तिमिल्सिनाले नेपालमा राजनीतिक स्थिरता कायम भएको र बलियो सरकार बनेकाले क्रमशः लगानीमैत्री वातावरण निर्माण हुँदै गएको स्पष्ट पारे। नीतिगत सुधार, कानुनी संरचना सुदृढीकरण तथा प्रशासनिक प्रक्रियाको सरलीकरणमार्फत वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने सरकारको योजना रहेकोसमेत उनले बताए। नेपालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन चाहेको उल्लेख गर्दै उनले विशेषगरी सूचना प्रविधि, डिजिटल सेवा, ‘क्लाउड’ पूर्वाधार, ‘ई–गभर्नेन्स’ प्रणाली तथा नवप्रवर्तन उद्योगमा लगानी आवश्यक रहेको बताएका थिए।
राजदूत तोरुले नेपालमा सूचना प्रविधि क्षेत्रको तीव्र विकासका लागि दुई देशबीच थप सहकार्य गर्न सकिने धारणा राखेका थिए। उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा जापान र नेपालबीच सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गरे।
विशेषगरी नेपालका युवाशक्ति र जापानको प्रविधि तथा व्यवस्थापकीय अनुभवलाई जोडेर दुवै देशले पारस्परिक लाभ लिन सक्ने राजदूत तोरुको भनाइ थियो। उहाँले जापानमा करिब तीन लाख नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै तीमध्ये ठूलो सङ्ख्या सूचना प्रविधि, इन्जिनियरिङ, सेवा तथा प्राविधिक क्षेत्रमा आबद्ध रहेको जानकारी दिए।
जापानमा रहेका नेपाली डायस्पोराको सीप, अनुभव र पुँजीलाई नेपालतर्फ आकर्षित गर्न सके डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन सकिने धारणा राखे। साथै विदेशमा बसेका नेपाली नागरिकलाई केवल श्रमशक्ति मात्र नभई ज्ञान, लगानी र नवप्रवर्तनका साझेदारका रूपमा उपयोग गर्नुपर्नेमा उनको जोड थियो।
राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण र पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको चासो नेपालमा अझ बढ्न सक्ने बताए। नेपालमा प्रविधि–आधारित उद्योग, सफ्टवेयर विकास, स्टार्टअप इकोसिस्टम तथा डिजिटल सेवा क्षेत्रमा जापानी लगानी आकर्षित गर्न सकिने सम्भावना रहेको भनाइ थियो।
प्रकाशित समय : १७:२३ बजे



















