nmb bank

गृहपृष्ठ लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा । यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा नं १७ मा आज निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएको हो ।

शिविरअन्तर्गत मोतियाविन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिँदै आएको छ । शिविर उद्घाटन गर्दै नगरप्रमुख चौधरीले नगरलाई मोतियाविन्दु मुक्त बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिए । “आर्थिक अभावका कारण कुनै पनि नगरवासी आँखासम्बन्धी समस्याबाट पीडित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । उनका अनुसार शिविरसँग सम्बन्धित सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने छ ।

यस वर्ष वडा नं १७ बाट सुरु गरिएको शिविर नगरका सबै २४ वटै वडामा सञ्चालन गरिनेछ । साथै, मोतियाविन्दु पहिचान भएका बिरामीलाई नगरबसमार्फत अस्पतालसम्म ल्याउने पुर्‍याउने व्यवस्था निःशुल्क गरिएको छ ।

सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लहान नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएका शिविरमार्फत १७ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा जाँच गरिएको छ । तीमध्ये करिब दुई हजार ५०० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने आठ हजारभन्दा बढीलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको छ ।

अस्पतालले नेपाल तथा भारतका वार्षिक रूपमा करिब २५ लाख आँखाका बिरामीको उपचार गर्दै आएको छ । साथै, विभिन्न स्थानीय तहसँगको सहकार्यमा दक्ष जनशक्ति र आधुनिक प्रविधिसहित आँखा जाँच शिविरलाई निरन्तरता दिँदै आइएको अस्पतालले जनाएको छ ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु