गृहपृष्ठ मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर
मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर
धनुषा । जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ ।
सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको देखाएको छ ।
प्रतिवेदनअनुसार मधेस प्रदेशमा नवजात शिशु मृत्युदरप्रति एक हजार जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो ।
त्यस्तै, कुपोषणको अवस्था पनि गम्भीर देखिएको छ उमेरअनुसार तौल कम भएका लिखुरे बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका (पुड्को) ३१.१ प्रतिशत रहेका छन् ।
शिक्षा क्षेत्रमा पनि चुनौती देखिएको छ । कक्षा १–५ मा ९.२ प्रतिशत, ६–८ मा ८.२ प्रतिशत र ९–१२ मा २२.६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने दर पनि मधेशमा २६.३ प्रतिशत मात्र रहेको छ ।
स्वास्थ्य सेवाको पहुँचमा असमानता देखिएको छ । मधेस प्रदेशमा केवल ७०.४ प्रतिशत महिलाले सिफारिसअनुसार चार पटक पूर्वप्रसूति जाँच गराएका छन् भने स्वास्थ्य बिमा गर्नेको सङ्ख्या निकै न्यून छ महिला ६.६ प्रतिशत र पुरुष ३।९ प्रतिशत मात्र छ ।
प्रजनन् स्वास्थ्यतर्फ मधेसमा कुल प्रजनन् दर २.४ रहेको छ, जुन राष्ट्रिय औसत १.९ भन्दाबढी हो । किशोरी (१५–१९ वर्ष) प्रजनन् दर पनि उच्च (प्रति १००० मा ७१) देखिएको छ ।
यद्यपि, केही सकारात्मक पक्ष पनि देखिएका छन् । मधेसमा ९८.५ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच पुगेको छ भने ९४.७ प्रतिशतमा टेलिफोन सुविधा उपलब्ध छ । ७८.९ प्रतिशत घरपरिवारले इन्टरनेट प्रयोग गर्ने उपकरण प्रयोग गरिरहेका छन् ।
खानेपानीतर्फ सुधारिएको स्रोत प्रयोग गर्नेको प्रतिशत उच्च (९९प्रतिशत) भए पनि ६५ प्रतिशत पानीमा ‘इ–कोली’ जीवाणु भेटिनु चिन्ताजनक रहेको प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले यस सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले नीतिनिर्माण, योजनातर्जुमा र दिगो विकास लक्ष्यको अनुगमनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ । यो सर्वेक्षण युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिएको हो ।
प्रकाशित समय : १५:४९ बजे



















