गृहपृष्ठ महारानीको जीवनी लेख्न इतिहासकार चयन
महारानीको जीवनी लेख्न इतिहासकार चयन
बेलायती शाही परिवारले दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनलाई आधिकारिक रूपमा अभिलेखीकरण गर्ने महत्त्वपूर्ण कदम अघि बढाउँदै इतिहासकार अन्ना केलाई जीवनी लेखनको जिम्मेवारी दिएको जनाएको छ । सत्तरी वर्षभन्दा लामो शासनपछि सन् २०२२ सेप्टेम्बरमा निधन भएकी महारानीको जीवन र कार्यलाई समेट्ने यो परियोजनालाई शाही इतिहासको एक महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।
बेलायती सञ्चारमाध्यमहरूका अनुसार राजा चार्ल्स तृतीयले आफ्नी आमाको जीवनकथा लेख्ने जिम्मेवारी एक महिलालाई दिने इच्छा व्यक्त गरेका थिए, जसअनुसार अन्ना केको छनोट गरिएको हो । विशेषगरी सन् १६४९ देखि १६६० सम्मको बेलायतको गणतान्त्रिक कालखण्डबारे गहिरो अध्ययन र लेखनका लागि परिचित केका लागि यो अवसर ऐतिहासिक जिम्मेवारीका रूपमा आएको छ ।
अन्ना केले यो जिम्मेवारी पाउनु ‘गहिरो सम्मान’ भएको प्रतिक्रिया दिँदै रानी एलिजाबेथलाई असाधारण व्यक्तित्वका रूपमा चित्रण गरेका छन । महारानी एलिजाबेथको जीवन एक शताब्दीभरि भएका व्यापक परिवर्तनहरूसँग गाँसिएको थियो । केले आफूलाई उपलब्ध गराइने स्रोत र सामग्रीको सदुपयोग गर्दै महारानीको जीवन र योगदानलाई न्याय गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
बकिङ्घम प्यालेसले जारी गरेको विज्ञप्तिअनुसार अन्ना केले रोयल आर्काइभमा सुरक्षित राखिएका महारानीका व्यक्तिगत तथा आधिकारिक कागजातहरूमा पूर्ण पहुँच पाउनुहुनेछ । साथै, उनले शाही परिवारका सदस्यहरू, महारानीका निकट साथीहरू तथा दरबारका कर्मचारीहरूसँग अन्तर्वार्ता लिन पनि सक्ने व्यवस्था गरिएको छ, जसले जीवनीलाई थप विश्वसनीय र जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
आधिकारिक शाही जीवनीहरूले प्रायः ऐतिहासिक रूपमा महत्त्वपूर्ण तर कम ज्ञात विवरणहरू सार्वजनिक गर्ने गरेका छन् । यसअघि महारानी एलिजाबेथकी आमा, राजा जर्ज छैटौँकी पत्नीको आधिकारिक जीवनीमा १९६० को दशकमा आन्द्राको क्यान्सरबाट पीडित भए पनि सफल उपचार गरिएको तथ्य खुलासा भएको थियो ।
यस नयाँ जीवनी परियोजनाले महारानी एलिजाबेथ द्वितीयको व्यक्तिगत जीवन, शासनकाल र विश्व इतिहासमा उनको भूमिकाबारे थप गहिरो दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १४:२० बजे



















