nmb bank

गृहपृष्ठ मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता व्यक्त गरिरहेका छन् ।

यो दिन आमा हुने र नहुनेहरुका लागि पनि विशेष छ । आमा ती साक्षात् देवी हुन् जसका विषयमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ । हरेक सन्ततिलाई नौं महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन् । आमा ममताकी खानी, स्नेहकी सागर र आकाश हुन् । सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन् ।

प्रत्येक वर्ष वैशाख कृष्णपक्षको अमावास्या तिथिमा आमालाई सम्मान गर्ने पर्वका रूपमा मातातीर्थ औंसी मनाउने गरिन्छ । यो दिवस आफूलाई जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने पर्व हो । त्यसैले यस दिन आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्दछन् भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको मोक्षगतिको कामनासाथ आमाका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्दछन् ।

यसै क्रममा आजकै दिन कलाकारहरूको मन छुने शब्दहरूले सामाजिक सञ्जाल भावुक बनेको छ । धेरै कलाकारहरुले आफ्नो आमाप्रति माया देखाउँदै शब्दहरु दर्शाएका छन् । अभिनेत्री पूजा शर्मा लेख्छिन् ,‘एउटी आमा हुन् जसले अन्य सबैको ठाउँ लिन सक्छिन्, तर जसको ठाउँ अरू कसैले लिन सक्दैनन् ।’

उनले मातातीर्थ औँसीको शुभकामना व्यक्त गर्दै आमाको अनुपम स्थानको स्मरण गराएकी छन् । अभिनेत्री केकी अधिकारीको शब्द झन् गहिरो छ । उनले आमाको महिमा कस्ले पो गाउन सक्ला भनेर भावुक शब्दहरु लेखेकी छन् ।

उनले लेखेकी छन्, ‘आमाको महिमा कस्ले पो गाउन सक्ला !! त्यो सामथ्र्य हामी मानवमा छ जस्तो लाग्दैन । मेरी आमा अनि संसारभरीका सम्पूर्ण आमाहरुलाई कोटि कोटि प्रणाम । दीर्घयु तथा सुस्वास्थ्यको कामना ।’

यसैगरी गायिका समिक्षा अधिकारीले त आफ्नी आमाप्रति समर्पित भावुक कविता नै लेखेकी छन् । जब संसारले साथ छोड्छ, निस्वार्थ साथ दिने एउटै व्यक्ति आमा भएको उल्लेख गर्दै, उनले आमाको माया, त्याग र साथलाई जीवनको सबैभन्दा ठूलो शक्ति मानेकी छन् । ‘धन्यवाद शब्द सानो छ तिम्रो लागि… आमा, तिमी मेरो संसार हौं’ भन्ने उनको अभिव्यक्तिले धेरैको मन छोएको छ ।

उनले कवितामार्फत आफ्नी आमालाई मनछुने शब्द खर्च गर्दै यस्तो लेखेकी छन्,
‘आमा
जब संसारले साथ छोड्छ,
त्यो बेला पनि निस्वार्थ साथ दिने एउटै मान्छे — आमा।
तिम्रो माया सधैं सर्तबिहीन हुन्छ,
तिम्रो त्यागको कुनै सीमा हुँदैन।
म लड्दा उठाउने,
म रोएँ भने सान्त्वना दिने,
म डराउँदा अँगालो हालेर ढुक्क पार्ने,
र म हाँसेँ भने आफूले नै संसार जितेजस्तो खुशी हुने —
त्यो तिमी नै हौ आमा।
जब म सानो थिएँ,
तिमीले मेरो हात समाएर हिँड्न सिकायौ,
आज पनि जीवनका कठिन बाटोमा
तिमी नै मेरो सहारा हौ।
मेरो हरेक खुसीमा तिम्रो प्रार्थना मिसिएको छ,
मेरो हरेक सफलतामा तिम्रो संघर्ष बोल्छ।
धन्यवाद शब्द सानो छ तिम्रो लागि,
तर पनि हृदयदेखि धन्यवाद
आमा, तिमी मेरो संसार हौं ।’

आजको दिन जीवित आमालाई अँगालो हाल्ने, माया साट्ने, धन्यवाद दिने दिन हो भनेदिवंगत आमालाई सम्झने, सम्मान गर्ने, अनि उनीहरूको आत्माको शान्तिको कामना गर्ने दिन पनि हो यो ।
आमा ममताकी खानी, स्नेहकी सागर, र जीवनकी पहिलो गुरु ।
मातातीर्थ औँसीको हार्दिक शुभकामना ।

 

प्रकाशित समय : १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु