nmb bank

गृहपृष्ठ लोक गायक विमलराज क्षेत्रीको सपना : नेपाललाई विश्वको ‘सांस्कृतिक ट्रान्जिट’ बनाउन सकौं

लोक गायक विमलराज क्षेत्रीको सपना : नेपाललाई विश्वको ‘सांस्कृतिक ट्रान्जिट’ बनाउन सकौं

लोक गायक विमलराज क्षेत्रीको सपना : नेपाललाई विश्वको ‘सांस्कृतिक ट्रान्जिट’ बनाउन सकौं

काठमाडौं । नेपाली लोक सङ्गीत आकाशका प्रखर नक्षत्र विमलराज क्षेत्री पछिल्लो समय समाजको बदलिँदो स्वरूप र कला क्षेत्रको अवस्थालाई लिएर निकै गम्भीर देखिन्छन् । जब देशमा राजनीतिक माहोल तात्तिन्छ वा बनिदिन्छ तब कला र संस्कृति जस्ता संवेदनशील र मानवीय संवेदनासँग जोडिएका पक्षहरू ओझेलमा पर्ने गरेको अनुभव क्षेत्रीले सुनाए ।

कुराकानीमा क्षेत्रीले कलाकारिता, व्यावसायिकता, सामाजिक सञ्जालको प्रभाव र भविष्यको चिन्ताका बारेमा आफ्ना घतलाग्दा पक्षहरुका बारेमा कुराकानी गरेका छन् । राजनीति र कलामध्ये कुन शक्तिशाली वा प्रभावशाली भन्ने बारेमा राजनीति र कला दुवै समाजका अपरिहार्य अङ्ग भएको उनको बुझाई छ ।

तर, पछिल्लो समय सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यममा राजनीतिज्ञका स–साना कुराले जति प्राथमिकता पाउँछन्, कलाकारका महान् सिर्जनाहरूले त्यति स्थान पाउन सकेका छैनन् । उनी भन्छन,‘यो राजनीतिक उदारताको समयमा कला अलिकति ओझेलमा परेको अनुभव मैंले गरेको छु । राजनीतिज्ञका हरेक कुरा अगाडि आउँछन तर मानव सभ्यता रहेसम्म आवश्यक पर्ने गीत–सङ्गीत भने पछाडि धकेलिन्छन् ।’

यद्यपि, उनले गीत–सङ्गीतलाई मानव जीवनको भोजभतेरसँग तुलना गरे । ‘भोजभतेर र बाजागाजाबिना पनि विवाह त सम्पन्न हुन्छ, तर त्यसको रमाइलो र अनुभूति छुट्टै हुन्छ,’ उनी थप्छन,‘कला भनेको गाँस, बास र कपास जस्तो तत्कालको मजबुरी नभए पनि जीवनलाई सहज र सुन्दर बनाउन यो नभई हुँदैन् ।’

कलाकारको असली मूल्य उसको जीवनकालमा भन्दा पनि उसले छोडेर गएको कृतिमा हुने क्षेत्रीको तर्क छ । उनले आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्टको प्रसङ्ग कोट्याउँदै भने, ‘भानुभक्तले रामायण लेखे, तर उनले न त्यसको रोयल्टी पाए, न त छापिएको नै देखे । मोतीरामले भानुभक्तको नाम राखेर त्यसलाई सार्वजनिक गरिदिए । असली कलाकार त ती हुन्, जसले व्यवसायभन्दा माथि उठेर कृति छोडेर जान्छन् ।’

क्षेत्रीका अनुसार अहिलेको बजारमा राम्रो बिक्ने नाममा गुणस्तरहीन कन्टेन्ट बनाउने होडबाजी चलेको छ । यदि कलाकारले केवल पैसा, गाडी र घर बनाउने कुरालाई मात्र ध्यान दियो भने उसले कालजयी कृति सिर्जना गर्न सक्दैन । ‘आफू बाँचेकै बेला चर्चा कमाउनु पर्छ भन्ने सोच्नु पनि एक प्रकारको स्वार्थ हो,’ उनले भने ।

पीडामा ‘डलरको खेती’ र भाइरल संस्कृति

अहिलेको डिजिटल युगमा सामाजिक सञ्जालको मनिटाइजेसनले गर्दा नेपाली समाजमा पीडा बेचेर डलर कमाउने एउटा नयाँ प्रवृत्ति भित्रिएको छ । ‘राज्यको नजरबाट हेर्दा नेपालमा डलर भित्रिनु राम्रो होला, तर समाजको हिसाबले हेर्दा कसैको पीडा र नराम्रा कुराहरू बिक्री हुनु दुःखद छ,’ उनी भन्छन् ।

उनका अनुसार समुद्रको सतहमा हल्का चिजहरू तैरिरहन्छन तर मोती सधैँ पिँधमा हुन्छ । ‘अहिलेका भाइरल चिजहरू पानीमा तैरिएका तिनै हल्का बस्तुहरु जस्तै हुन् । मानिसहरूलाई एक हप्ताअघि भाइरल भएका पाँचवटा कुरा सोध्यो भने कसैलाई याद हुँदैन । तर, गहिरो सिर्जना सधैँ जीवित रहन्छ ।’

उनले पीपल र बाँसको उदाहरण दिँदै भने, ‘बाँसको तामा छिटो बढ्छ, तर पीपलको बोटलाई वृक्ष बन्न समय लाग्छ । उसले झारपात र झाडीसँग सङ्घर्ष गर्दै आफ्नो आकार बनाउँछ । राम्रो सिर्जना पनि पीपल जस्तै हो, जो ढिलो गरी स्थापित हुन्छ तर शताब्दीऔँसम्म शीतलता दिइरहन्छ ।’

डिजिटल सुरक्षा र भविष्यको चिन्ता

क्षेत्रीले अहिलेको सबैभन्दा ठूलो चुनौती सिर्जनाको संरक्षणमा देखेका छन् । अहिले हामी गुगल, फेसबुक र युट्युब जस्ता प्लेटफर्ममा पूर्ण रूपमा निर्भर छौँ । ‘हिजो रिल थियो, क्यासेट चक्का थियो, सिडी आयो । यदि भोलि कुनै प्राविधिक विष्फोट भयो वा गुगलको सर्भरमा केही भयो भने हाम्रा सिर्जनाहरू कहाँ रहलान ?,’ उनी प्रश्न गर्छन् । उनको अनुभवमा डिजिटल माध्यमभन्दा पुस्तक अझंै बढी सुरक्षित र मस्त माध्यम हो । आफ्ना सिर्जनाहरूलाई कसरी जोगाउने भन्ने चिन्ताले उनलाई सताइरहन्छ ।

‘पागलपन’ जस्तो लाग्ने आफ्नो एउटा रहर पनि क्षेत्रीले हामीलाई सुनाए । मानव मस्तिष्कलाई ‘नर्मल ब्रेन’ (सामान्य मस्तिष्क) र ‘मेन्टल ब्रेन’ (कल्पनाशील वा अलि फरक मस्तिष्क) को रुपमा व्याख्या गर्दै उनले मस्तिष्कलाई दुई भागमा विभाजन गरेर व्याख्या गर्दै भने,‘मेरो मेन्टल ब्रेनको फोल्डरमा असम्भव लाग्ने कुराहरू छन् । समाजले मलाई बौलायो भन्ला भनेर म ती फोल्डरहरू बिस्तारै खोल्दै छु,’ उनले मुस्कुराउँदै भने ।

नेपालमा एउटा भव्य कला तथा सङ्गीत सङ्ग्रहालय निर्माण गर्ने आफ्नो ठुलो सपना रहेको क्षेत्रीले सुनाए । नारायणगोपाल, लक्ष्मीप्रसाद देवकोटा र अरुण थापा जस्ता सर्जकहरूले अभावमा जीवन बिताए पनि उनीहरूले छाडेर गएको इतिहास अमूल्य रहेको उनको ठम्याइ छ ।

‘हिजोका धनाढ्यहरू को थिए, आज धेरैलाई थाहा छैन । तर महाराजगञ्ज चोकमा नारायण गोपालको शालिक छ । कलाकारका लागि यो नै सबैभन्दा ठुलो सम्पत्ति हो,’ क्षेत्री भन्छन् । उनले सिर्जनालाई जोगाउनु नै अहिलेको मुख्य चुनौती रहेको र यसका लागि राज्य तथा सर्जक दुवै गम्भीर हुनुपर्ने बताएका छन् ।

नेपाललाई विश्वको ‘सांस्कृतिक ट्रान्जिट’ बनाउने सपना

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा क्षेत्रीले नेपाललाई विश्वकै सांस्कृतिक केन्द्र बनाउनेदेखि लिएर कलाकारहरूको सामाजिक सुरक्षासम्मका विषयमा आफ्ना स्पष्ट धारणा राखेका छन् ।

नेपाललाई विश्वका १९५ वटै देशसँग सांस्कृतिक रूपले जोड्ने आफ्नो सपना रहेको उनले सुनाए । ‘जसरी दुबई आज विश्वको व्यावसायिक र हवाई ट्रान्जिट बनेको छ, नेपाललाई विश्वको सांस्कृतिक ट्रान्जिट बनाउन सकिन्छ,’ उनले भने । ‘मनाङ वा मुस्ताङ जस्ता हिमाली भेगका खाली ठाउँहरूमा एउटा यस्तो विशाल प्लट तयार पारियोस जहाँ विश्वका हरेक देशको संस्कृति झल्कियोस् । त्यहाँ छिरेपछि विश्व देखियोस् ।’

त्यस्ता क्षेत्रहरु घुम्नका लागि एउटा विदेशी पर्यटकलाई कम्तीमा १० दिन लाग्ने गरी नीति बन्नुपर्ने उनको धारणा छ । ‘यो मेरो एउटा पागलपन जस्तो लाग्ने रहर हो, तर यसले नेपालको पहिचानलाई विश्वभर पु¥याउनेछ,’ क्षेत्रीले आफ्नो योजना सुनाए ।

‘यदि राज्यले एउटा गीत वा कृतिको अभिलेखीकरण गरेबापत स्रष्टालाई ५०० वा १००० रुपैयाँ दिने नीति ल्यायो भने, गाउँ–गाउँमा रहेका कलाकारहरू आफ्ना पुराना सिर्जना बोकेर काठमाडौँ आउनेछन् । यसले एकातिर स्रष्टालाई सानोतिनो आर्थिक राहत दिन्छ भने अर्कोतिर देशको अमूल्य कला सधैँका लागि सुरक्षित हुन्छ,‘उनी भन्छन् । मूर्ति, चित्रकला र सङ्गीतलाई एउटै छानामुनि सुरक्षित राख्नु नै भावी पुस्ताका लागि ठुलो उपहार हुने उनको ठम्याइ छ ।

प्रतिभा पलायन रोक्न ‘स्रष्टा सम्मान भत्ता’

अहिलेको समयमा कलाकार र प्रतिभाहरू विदेश पलायन हुनु राष्ट्रका लागि सबैभन्दा ठूलो क्षति भएको क्षेत्रीको विश्लेषण छ । अरनिको, लक्ष्मीप्रसाद देवकोटा वा नारायण गोपाल जस्ता हस्तीहरूले पनि अभाव र दुःख झेलेको स्मरण गर्दै उनी भन्छन,‘यदि उनीहरू उतिबेलै पलायन भइदिएको भए आज हाम्रो पहिचान के हुन्थ्यो ?’

प्रतिभा पलायन रोक्न योग्यता पुगेका स्रष्टाहरूका लागि न्यूनतम भत्ताको् व्यवस्थापन गर्नुपर्ने उनको धारणा छ । क्षेत्रीले यसको आर्थिक हिसाब पनि निकालेका छन् । उनका अनुसार १०० वटा फिल्म खेलेको, ५०० वटा गीत गाएको वा निश्चित संख्यामा सिर्जना गरेका कलाकारलाई मासिक भत्ता दिने व्यवस्था गर्न सके राम्रो हुने देखिन्छ ।

भाषाको चुनौती र विश्व बजार

नेपाली कला क्षेत्र पछाडि पर्नुको एउटा मुख्य कारण भाषाको सीमितता रहेको क्षेत्रीको बुझाइ छ । विश्वका करिब ५–६ करोड मानिसले मात्र नेपाली भाषा बुझ्ने र नेपालभित्रै पनि भाषिक विविधताका कारण एउटा क्षेत्रको गीत अर्को क्षेत्रकाले नबुझ्ने समस्या रहेको उनले बताए ।

‘हिन्दी गीत हामी बुझ्छौँ, तर चिनियाँ गीत जतिसुकै राम्रो भए पनि बुझिँदैन । नेपाली भाषाको विकास र प्रचारलाई राज्यले मूल नीतिकै रूपमा अगाडि बढाउनुपर्छ । जबसम्म भाषा बुझिँदैन, तबसम्म फिल्म र सङ्गीतको बजार विस्तार हुँदैन,’ उनले भने । मधेश, हिमाल र पहाडका आफ्नै स्थानीय भाषाहरू अमूल्य भए पनि साझा नेपाली भाषाको प्रवद्र्धनले मात्र कलालाई जोड्न सक्ने उनको तर्क छ ।

प्रकाशित समय : ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु