global ime bank Long Banner Ad

गृहपृष्ठ फेरि सुरु गर्नुछ

फेरि सुरु गर्नुछ

फेरि सुरु गर्नुछ

सुख खोज्ने आशमा
सुन्दर भविष्यको सपना बोक्दै
जब लाग्यौ तिमी परदेश
म एक्लै भएँ ।

यी डाँडाकाँडा देउरालीहरुमा
हामीले सँगै बिताएका चौतारीहरुमा
पानी लिन जाने पँधेरोहरुमा
घाँस, दाउरा गर्ने जंगलहरुमा
म एक्लै भएँ ।

विवाहमा तिमीले लगाइदिएको पहिलो सिन्दुर
सिउँदोमा थप्न नपाउँदै
हातबाट मेहन्दीको रङ मेटिन नपाउँदै
तिम्रो स्पर्श राम्रोसँग महसुस गर्न नपाउँदै
मेरो गर्भमा प्रेमको निसानी छाडेर
जब तिमी परदेश गयौ,
म एक्लै भएँ ।

वर्ष बित्यो,
आज छोरी ‘बाबा खै ?’ भन्छे
भन्छु, दुख मेटाउन, सुख कमाउन परदेशमा
प्रश्न गर्छिन्, के हो सुख ? दुख ?
कहिले आउँछ, कहिले मेट्छ ?
म के जवाफ दिउँ ?
अवोेध अनुहार, उनको हजारौँ जिज्ञासा
कसरी भनूँ ?

मेरो उत्तर बुझ्लिन् या नबुझ्लिन्
म उसको कपाल सुम्सुम्याउदै भन्छु–
सुख र दुख एकपछि अर्को गर्दै आउँछ छोरी
धैर्य गर्नुपर्छ,
आउँछ एकदिन, अवश्य आउँछ
हाम्रो खुशी तिम्रो बाबा ।
यो सहर यो गाउँघर सुनसान छन्
अब रोंधीघरमा गीत गुञ्जिदैनन्
नत देउरालीमा कोइलीको मिठो स्वर सुनिएला
सुनिन्छ त केवल विरहका गीतहरु
सारंगी दाइ सारंगी रेट्छन्,
विरह पोख्छन्

सायद,
हामीजस्तै छुट्टिएका हजारौं जोडीहरु भएर होलान्
गाउँघर सुनसान छन्
तिमी गएदेखि यहाँ
हाम्रो धान फल्ने उर्वर खेत
बाँझो भइसकेका छन्
मरुभूमि बनिसके ।
तर, तिमी त्यहाँ मरुभूमिलाई
उर्वर बनाउदै छौ
आफ्नो थोपाथोपा पसिना बगाएर ।

फर्क,
अब फर्क तिम्रो घर
तिम्रो देश फर्क
आउ हामी मिलेर सुरु गरौँं
बनाऔँ एक सुन्दर घर
एउटा छुट्टै संसार
दुवै भएर बाँझो भइसकेका
खेतहरु खन्नुछ

र, फेरि लहलह धान झुलाउनुछ
उजाड भएका यी घर, आँगन
फेरी बगैंचाले सिगार्नुछ
तिमीलाई मन पर्ने गुलाव, मलाई सयपत्री
छोरीलाई गोदावरी
सबै सबै फुलाउनुछ
फेरि सुरु गर्नुछ रोंधीघर
नाच्नुछ छमछमी दुवै मिलेर
संगीतमय बनाउनुछ देउरालीहरु
आउ फेरि सुरु गर्नुछ ।

प्रकाशित समय : २३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु