nmb bank

गृहपृष्ठ चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष (आव) ०८२÷८३ मा उल्लेखनीय रूपमा सुस्त हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार चालु आर्थिक वर्षमा ४.६ प्रतिशत रहेको आर्थिक वृद्धि दर आगामी वर्ष घटेर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको हो ।

प्रतिवेदनमा पश्चिम एशियामा जारी द्वन्द्व र २०२५ सेप्टेम्बरको आन्तरिक अस्थिरताको दीर्घकालीन प्रभावलाई वृद्धि सुस्त हुनुको मुख्य कारणका रूपमा औंल्याइएको छ । विशेषगरी सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै पर्यटन गतिविधिमा सुस्ती, यातायात लागत वृद्धि तथा आपूर्ति शृंखलामा अवरोधले अर्थतन्त्रमा दबाब पर्ने जनाइएको छ ।

विश्व बैंकका अनुसार द्वन्द्व लम्बिएमा पर्यटक आगमन घट्न सक्ने, विप्रेषण आप्रवाह कम हुन सक्ने र उपभोग कमजोर बन्न सक्ने जोखिम रहेको छ । यसले समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने चेतावनी पनि प्रतिवेदनले दिएको छ । यद्यपि, प्रतिवेदनले केही सकारात्मक संकेतहरू पनि देखाएको छ । हालै सम्पन्न निर्वाचनपछि देखिएको राजनीतिक स्थिरता, सुदृढ आर्थिक व्यवस्थापन तथा संरचनात्मक सुधारले लगानीकर्ताको विश्वास बढाउन सक्ने उल्लेख गरिएको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिस्लेनले नेपालमा आर्थिक सहनशीलता सुदृढ गर्न र रोजगारी सिर्जना गर्न निजी क्षेत्रद्वारा नेतृत्व गरिएको वृद्धि आवश्यक रहेको बताएका छन् । उनले व्यापार वातावरण सुधार, आधारभूत पूर्वाधार विकास, निजी वित्त परिचालन तथा पर्यटन, सूचना प्रविधि र कृषि व्यवसायजस्ता प्राथमिकता प्राप्त क्षेत्रको प्रवद्र्धनमा जोड दिएका छन् । यसैबीच, विश्व बैंकको ‘साउथ एशिया इकोनोमिक अपडेट’ अनुसार दक्षिण एशियाको समग्र आर्थिक वृद्धि पनि केही सुस्त हुने देखिएको छ । २०२६ मा क्षेत्रीय वृद्धि ६.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन २०२५ मा ७ प्रतिशत थियो । तर सन् २०२७ मा भने पुनः ६.९ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु