global ime bank Long Banner Ad

गृहपृष्ठ सुर्खेत विमानस्थलको धावनमार्ग अझ साँघुरिने

सुर्खेत विमानस्थलको धावनमार्ग अझ साँघुरिने

सुर्खेत विमानस्थलको धावनमार्ग अझ साँघुरिने

सुर्खेत विमानस्थल विस्तारमा सडक ‘बाधक’ बनेको छ । रत्न राजमार्ग विस्तारका लागि दक्षिणतर्फको तारजाली हटाउनुपर्ने भएपछि साँघुरो धावनमार्ग भएको विमानस्थल विस्तार गर्न समस्या हुनेभएको हो ।

सडक डिभिजन कार्यालय सुर्खेतले विमानस्थलको दक्षिणतर्फको जमिन छोड्न पत्राचार गरेको छ । करिब डेढ महिनाअघि कार्यालयले तत्काल तारजाली हटाउनुु भनी पत्र काटेपछि समस्या उत्पन्न भएको सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख उमेशकुमार पन्थीले बताए ।

‘यसै पनि विमानस्थलको चारैतर्फ साँघुरो क्षेत्र छ । अझै गम्भिर कुरो त सुर्खेत विमानस्थलको धावनमार्ग दक्षिणबाट उत्तरतर्फ हो,’ उनले भने, ‘यसरी दक्षिणतर्फकै जमिन छोड्नुपर्दा विमानस्थलको धावनमार्ग झनै साँघुरो हुनेभयो ।’

पन्थीका अनुसार सडक डिभिजन कार्यालय सुर्खेतले पत्र काटे पनि प्राविधिक भने पठाइसकेको छैन । ‘सुर्खेत नागरिक उड्डयन कार्यालयसँग प्राविधिक छैन । त्यसैले पत्र आएको जानकारीसहित प्राविधिक माग गरी केन्द्रीय कार्यालयमा जानकारी गराएका छौँ,’ उनले भने ।

विमानस्थलको लागि नै क्षेत्र अपुग भइरहेको बेला सडकको लागि जमिन छोड्दा समस्या आउने उनले बताए । उनका अनुसार, सडक डिभिजन कार्यालयको पत्रमा ‘विमानस्थलको जालीसमेत सडकको क्षेत्रमा लगाइएको पाइएको हुनाले तत्काल सार्न अनुरोध छ’ भनिएको छ ।

सडकबाट करिब १५ मिटरको दुरीमा विमानस्थलको तारजाली भएको र १० मिटर जति जमिन छोड्नुपर्ने हुनसक्छ । सबैलाई सडकको अतिक्रमित क्षेत्र खाली गराउन पत्र काटेपछि विमानस्थललाई मात्रै छोड्न नमिल्ने उनले बताए ।

सडकको जमिन विमानस्थलको क्षेत्रभित्र परेको छ वा छैन, परेको छ भने कति परेको छ भनी अध्ययन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सडकको तारजाली हटाउनुपर्ने अवस्था आए अहिले आइरहेको जहाजहरु सबै नै अवतरण गर्न सक्ने तर सामान बोक्ने क्षमतामा भने कमी आउने पन्थीले बताए ।

सडक डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख धिरज ढकालले सडकको २५ मिटर दायाँबायाँ भित्र पर्ने जमिन जो-कसैले पनि छाड्नुपर्ने बताए । ‘रत्न राजमार्गको धुलियाबिटदेखि बांगेसिमल सम्मको क्षेत्रमा भएका सडक अतिक्रमणहरु हटाउने क्रममा सुर्खेत विमानस्थललाई समेत तारजाली हटाउनको लागि पत्र काटिएको हो,’ उनले भने, ‘मेरै घर पनि सडकको भागमा परेको भए छोड्नुपर्थ्यो । सबैले नियममा चल्नुपर्छ ।’

विमानस्थलको लागि तारजालीसम्मको जमिन खासै प्रयोगमा नआएको उनले बताए । नियमअनुसार सडकको जमिन अहिले सुरक्षित गर्न सकेको खण्डमा भविष्यमा समस्या नहुने उनको तर्क छ । ढकालका अनुसार सडकबाट करिब १५ मिटरको दुरीमा विमानस्थलको तारजाली भएको र १० मिटर जति जमिन छोड्नुपर्ने हुनसक्छ । सबैलाई सडकको अतिक्रमित क्षेत्र खाली गराउन पत्र काटेपछि विमानस्थललाई मात्रै छोड्न नमिल्ने उनले बताए ।

सुर्खेत विमानस्थलको धावनमार्ग सानो भएकाले यसको विस्तारको कुरा उठिरहेको छ । धावनमार्गदेखि दक्षिणतर्फ सडक र उत्तरतर्फ विद्यालय छ । विमानस्थल साँघुरो भएकै कारण उडान प्रभावित हुँदै आएको छ । नियमित उडान हुन नसक्दा कर्णालीवासीहरु बाँकेको राँझा विमानस्थल पुग्ने गर्दछन् ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु