global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै

सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै

सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै

सिन्धुपाल्चोक । सुख्खायाम सुरु भएसँगै हावाहुरी चल्ने भएकाले जिल्लाका सामुदायिक तथा निजी वनमा हुनसक्ने डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण रेखा निर्माण गर्न थालिएको छ ।

जिल्लामा हुनसक्ने सम्भावित वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माणसहित अन्य प्रभावकारी उपाय अपनाइने जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । वन डढेलोको जोखिमलाई नियन्त्रण गर्न सामुदायिक तथा निजी वनमा अग्नि नियन्त्रण रेखा निर्माणलगायत अन्य उपाय अपनाउन थालिएको कार्यालयका अधिकृत रमेश दुलालले जानकारी दिए।

यसतबेला वनलाई डढेलोबाट जोगाउन जिल्लाका विभिन्न सामुदयिक वन उपभोक्ता समूहका सदस्यहरू अग्निरेखा बनाउन व्यस्त छन् । अन्य ठाउँमा पनि बस्ती नजिकका निजी तथा सामुदायिक वन र जोखिम क्षेत्रमा रहेका ज्वलनशील पदार्थ, घाँसदाउरा, पातपतिङ्गर हटाउने काम भइरहेको छ ।

पाँच सय ३० सामुदायिक वन रहेका सिन्धुपाल्चोकका विभिन्न वनमा अहिले अग्निरेखा छन् भने कतिपय स्थानमा थप्न थालिएको वन अधिकृत दुलालले जानकारी दिए । विगतमा अग्निरेखा निर्माणले धेरै ठाउँका वनलाई डढेलो हुनबाट जोगाएका उनको भनाइ छ ।

अहिले चौतारा, मेलम्ची, नवलपुर, जलवीरे, डाँडापाखारलगायत छ ठाउँका सवडिभिजन कार्यालयले जोखिममा रहेका वन छनोट गरी रु एक लाखका दरले बजेट विनियोजन गरेका छन् । यसमा २० प्रतिशत सामुदायिक वनको लागत सहभागिता रहने वन अधिकृत दुलालले बताए । अग्निरेखा निर्माण र समुदायको सहभागिताले वन संरक्षणमा सकारात्मक परिणाम ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।

“डिभिजन वन कार्यालय र सामुदायिक वनहरूको सहकार्यमा वन जोगाउन तथा वन्यजन्तुको जीवन रक्षा गर्ने उद्देश्यले निर्माण गरिएका अग्नि नियन्त्रण रेखाले वनको एक ठाउँमा लागेको आगो अर्कोतिर फैलिन नदिने र फैलिहाले पनि ठूलो क्षति हुनबाट जोगाउँछ । सिन्धुपाल्चोकको करिब एक सय वनमा अग्निरेखा बनाइएको छ”, वन अधिकृत दुलालले भने ।

यहाँका स्थानीय स्थानीय घाँसदाउरा र काठका लागि सामुदायिक वनमा निर्भर रहनुपर्ने भएकाले वनको सुरक्षा आवश्यक छ । अहिले प्रत्येक सामुदायिक वनमा करिब एक हजार २०० मिटर लम्बाइ र पाँच मिटर चौडाइमा अग्नि रेखा निर्माण भइरहेका वन अधिकृत दुलालले जानकारी दिए ।

अग्निरेखा निर्माणले वनसँगै वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षण हुनुका साथै अग्नि नियन्त्रणमा खटिनेले रोजगारी पनि पाएका सामुदायिक उपभोक्ता महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष सारदाप्रसाद सापकोटाले बताए । फागुनदेखि जेठसम्म हावाहुरी लाग्ने, रूखबिरुवामा पुराना पात झरी नयाँ पालुवा पलाउने मौसम भएकाले जङ्गलमा आगलागी तथा डढेलोका घटना बढ्नेसक्ने भन्दै पूर्वतयारी थालिएको उनको भनाइ छ ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु