nmb bank

गृहपृष्ठ विशालको उत्कृष्ट बलिङमा मधेश विजयी

विशालको उत्कृष्ट बलिङमा मधेश विजयी

विशालको उत्कृष्ट बलिङमा मधेश विजयी

मधेश प्रदेशले प्रधानमन्त्री कप (पिएम कप) मा‌ मात्र १ सय २४ रन डिफेन्ड गर्दै लुम्बिनी प्रदेशलाई २५ रनले हराएको छ।

मधेशको यो दोस्रो जित हो। मधेशको जितमा विशाल पटेलको बलिङ उत्कृष्ट रहयो। १ सय २५ रनको अत्यन्त सामान्य चुनौती पछाएको लुम्बिनी २६ ओभरमा अल आउट हुँदै मात्र ९९ रनमा समेटियो।

सहज लक्ष्यका बाबजुद कुनै पनि खेलाडी क्रिजमा लामो समय टिक्न सकेनन्। १० रन जोड्दा ३ विकेट गुमाउँदा टप अर्डरका खेलाडीको प्रदर्शन निराशाजनक रहयो। पाँचौं क्रमका सुमित श्रेष्ठले सर्वाधिक ३० रन बनाए।

सन्देश थापाले १६ रन, कप्तान देव खनाल र सन्तोष यादवले समान १२ रन बनाए। यी बाहेक अन्य दोहोरो अंकमा रन छुन सकेनन्। ४ खेलाडी रनको खाता समेत नखोली आउट भए।

बलिङमा विशालले ९ ओभरमा ३ मेडन सहित मात्र २४ रन खर्चेर ५ विकेट लिंदै दमदार प्रदर्शन गरे। प्रदीप‌ पाश्वानले २ विकेट लिए।

त्यसअघि जनकपुर स्थित राम जानकी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३८.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २४ रन बनाएको थियो।

टोलीको लागि ओपनर मयान यादवले सर्वाधिक ३१ रन जोडे। मोहम्मद आदिल अलामले २३ रन, पवन सर्राफले १९ र अरनिको यादवले ११ रन बनाए। मधेशका पनि मात्र ४ खेलाडीले दोहोरो आँकडा पार गरेका थिए।

बलिङमा सन्देश थापा र सन्तोष यादवले समान ३ तथा अजय चौहानले २ विकेट लिए। यो खेलमा मधेशका विशाल नै प्लेयर अफ दी म्याच बने। उनकै प्रदर्शनमा मधेश निकै कम योगफल रक्षा गर्न सफल भएको हो।

तेस्रो खेलमा दोस्रो जित निकालेको मधेशले ५ अंक बनाएको छ। तेस्रो खेलमा लुम्बिनीको यो पहिलो हार हो। टोलीको ३ अंक छ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु