गृहपृष्ठ ‘ब्रेन इन्जुरी’बाट बाँचेका बेलायतीहरूको कथामा आधारित ‘द एभरेस्ट ड्रीम’ प्रदर्शन हुँदै
‘ब्रेन इन्जुरी’बाट बाँचेका बेलायतीहरूको कथामा आधारित ‘द एभरेस्ट ड्रीम’ प्रदर्शन हुँदै
मस्तिष्कमा गम्भीर चोट भएका संयुक्त अधिराज्य बेलायतस्थित स्कटल्यान्डका सातजनाले सगरमाथा आधार शिविरसम्म गरेको पदयात्रामा आधारित वृत्तचित्र ‘द एभरेष्ट ड्रीम’ प्रदर्शन हुने भएको छ ।
अन्तरराष्ट्रिय फिल्म महोत्सवको अवसर पारेर यही चैत २२ गते सो वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको सो वृत्तचित्रका निर्देशक एवं पत्रकार गणेश पाण्डेले जानकारी दिए । नेपालमा प्रदर्शन भएपछि अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन गर्ने लक्ष्य रहेको निर्देशक पाण्डेले बताए ।
करिब डेढ वर्ष लगाएर तयार पारिएको सो वृत्तचित्र निर्माणमा एसोसियट निर्माता शारदा गैरे, छायाङ्कार सुरेश श्रेष्ठ र नीरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा ‘न्यारेटर’ कौशल घिमिरे छन् ।
‘द लिटिल शेर्पा फाउन्डेसन’का जेम्स ल्याम्बको नेतृत्वमा ‘ट्रमाटिक ब्रेन इन्जुरी’को समस्या झेलिरहेका पाँच जनाका परिवारसहित सात जनाको स्कटल्यान्डदेखि काठमाडौं हुँदै खुम्बु क्षेत्रमा पर्ने सगरमाथा आधारशिविरसम्मको कठिन र प्रेरणादायी यात्रा वृत्तचित्रमा समावेश गरिएको छ ।
‘लिटिल शेर्पा फाउन्डेसन’को सहकार्यमा गोरखा भूकम्पसम्बन्धी वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’, बहुपति प्रथामाथि आधारित ‘को–हजबेण्ड’लगायत निर्माण गर्नुभएका पाण्डेले ‘द एभरेष्ट ड्रीम’ पनि निर्देशन गरेका हुन।
प्रकाशित समय : २०:५१ बजे




















