गृहपृष्ठ गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुख्र्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुटेका छन ।
बाबुबाजेले सिकाएको सीपलाई निरन्तरता दिँदै उहाँले यो पेसा अँगालेका हुन । स्नातक तहसम्म अध्ययन गरेका विश्वकर्माले राम्रो अवसरको खोजीमा विदेश जाने सोच बनाएका युवामध्ये आफू पनि एक रहेको तर पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको देखेपछि यही क्षेत्रमा केही गर्ने अठोट गरेको बताए । “पुख्र्यौली पेसाको संरक्षणसँगै स्वरोजगार बन्ने लक्ष्यले यो पेसामा जुटेको हुँ”, उनले भने, “अन्य काम गर्ने क्षमता भए पनि मैले यही पेसा अँगालेको छु ।”
उनले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्नुका साथै मागअनुसार तरबार, कट्टीलगायत सामग्रीसमेत बनाउँदै आएका छन । परम्परागत शैलीमा हातैले निर्माण गरिने भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेको उनको भनाइ छ । गुणस्तरीय फलाम प्रयोग गरी मिहिनेतका साथ तयार गरिएका खुकुरी देशका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् भने केही सामग्री व्यक्तिगत मागमार्फत बाहिर जाने गरेका छन् ।
खुकुरी निर्माण प्रक्रियामा कडा परिश्रम र समय लाग्ने भए पनि त्यसमा गर्वको अनुभूति हुने उनि बताउछन । “यो केवल पेसामात्र होइन, हाम्रो पहिचान हो”, उनले भने, “पेसालाई संरक्षण गर्दै यहीबाट आम्दानी गर्ने अठोटका साथ काम गरिरहेको छु ।” उनका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न सकेमात्र यो पेसा दिगो रूपमा जोगिन सक्छ । त्यसका लागि तालिम, प्रविधि र बजार व्यवस्थापनमा सहयोग आवश्यक रहेको उनको धारणा छ ।
गाउँमै सञ्चालन भइरहेको उद्योगबाट उत्पादित सामग्रीलाई सिधै बाह्य बजारसम्म पुर्याउने व्यवस्था भए आम्दानी अझ वृद्धि हुने उनि बताउछन । हाल कच्चा पदार्थको अभाव, मूल्यवृद्धि र बजार पहुँचको सीमितताले समस्या सृजना गरेको उनको गुनासो छ ।
कच्चा पदार्थको सहज उपलब्धता, आधुनिक उपकरण, सीप विकास तालिम तथा बजारीकरणमा राज्यको सहयोग भए कालिगड पेसा थप व्यवस्थित र आकर्षक बन्ने उनको विश्वास छ । पुख्र्यौली सीपलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्ने लक्ष्यसहित उनि यो पेसामा निरन्तर सक्रिय रहेका छन ।
प्रकाशित समय : १०:३० बजे



















