nmb bank

गृहपृष्ठ नेपाल टेलिकमले मनायो २२ औं वार्षिकोत्सव

नेपाल टेलिकमले मनायो २२ औं वार्षिकोत्सव

नेपाल टेलिकमले मनायो २२ औं वार्षिकोत्सव

नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औं वार्षिकोत्सव कार्यक्रम आज माघ २२ गते सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता गरेका हुन् ।

समारोहमा प्रमुख अतिथि गृहमन्त्री ओम प्रकाश अर्यालले विशेषतः डिजिटल डिभाइड न्यूनीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने काममा कम्पनीले गरेको योगदान प्रशंसनीय भएको बताउँदै सुशासन मार्फत नागरिक र सरकारको सम्बन्धलाई प्रगाढ बनाउने तर्फ कम्पनीबाट उपलब्ध सेवा एवम् कम्पनीका पूर्वाधारहरुको महत्वपूर्ण योगदान रहने बताए । सरकारले लिएका नीति एवम् कार्यक्रमलाई आत्मसात गरी सरकारको नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्ने र कम्पनीको सुदृढीकरण र विकासमा सरकारको अभिभावकत्व सदैव रहने बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गरी सर्वसुलभ रूपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै नेपाल टेलिकमले देशको प्रमुख सेवा प्रदायकको रुपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने बताइन् । उनले विशेष गरी दुर्गम क्षेत्रहरूमा डिजिटल सेवाहरू पुग्ने गरी आवश्यक ढाँचा तयार पार्न जरुरी भएको र यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र मुलुकलाई डिजिटाइजेसन गर्ने अभियानलाई गति दिने बताइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले त्यसै अनुसार नेटवर्क निर्माण र विस्तार गरी बजार अझै विस्तार गर्न सक्ने सम्भावना भएको र त्यसै अनुसार आम्दानी समेत वृद्धि गर्न सकिने भएकोले त्यसतर्फ लाग्न सुझाव दिए। उनले नेपाल टेलिकमले प्राधिकरणमार्फत गरिरहेका विभिन्न परियोजनाहरु समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताए ।

 

 

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु