गृहपृष्ठ आशिफ र जोराको उत्कृष्ट ब्याटिङमा नेपालले क्यानडालाई हरायो
आशिफ र जोराको उत्कृष्ट ब्याटिङमा नेपालले क्यानडालाई हरायो
आईसीसी टी–२० विश्वकप क्रिकेटको वार्मअप खेलमा नेपालले क्यानडालाई हराएको छ ।
भारतको चेन्नईस्थित चेपकमा रहेको एमए चिदम्बरम स्टेडियममा बिहीबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।
क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले । उनी २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन जोड्दै रिटायर्ड आउट भए । उनलाई गतिलो साथ दिएका सन्दीप जोराले ३० बलमा ३ चौका र एक छक्कासहित ४४ रनको योगदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरेका थिए ।
अर्का ओपनर कुशल भुर्तेल भने १२ रनमै आउट भए । यस्तै, गुल्शन झाले ३१ रन बनाउँदा लोकेश बमले ५ रन जोडे । आजको खेलमा कप्तानी गरेका दीपेन्द्रसिंह ऐरीको नाममा ९ रन रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।
क्यानडाका लागि नवनित धालिवालले सर्वाधिक ४१ रन बनाउँदा श्रेयास मोभा भने ३८ रनमा अविजित रहे ।
नेपालका लागि कुशल भूर्तेल र सन्दीप लामिछानेले २–२ तथा नन्दन यादव र सोमपाल कामीले १–१ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले १० भन्दा माथिको रनरेटमा रन दिएका थिए ।
डेथ ओभरको नेपालका कमजोर बलिङको फाइदा उठाउँदै क्यानडाले ५८ रन जोडेको थियो ।
नेपालको बलिङमा डेथ ओभर कमजोरी देखिँदै आएको छ । यसअघि पहिलो अभ्यास खेलमा यूएईविरुद्ध पनि नेपालले डेथ ओभरमा खराब बलिङ गरेको थियो । तर, खेल भने जितेको थियो ।
प्रकाशित समय : १६:३८ बजे


















