गृहपृष्ठ नेपालमा जलपन्छीको सङ्ख्या घट्दो
नेपालमा जलपन्छीको सङ्ख्या घट्दो
कञ्चनपुर । देशभर यस वर्ष गरिएको जलपन्छी गणना (एसियन वाटरबर्ड सेन्सस २०२६) मा जलपन्छीको प्रजाति र सङ्ख्या दुवैमा कमी आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङघको संयुक्त प्रयासमा सार्वजनिक गरिएको नतिजाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेखीकरण गरिएको छ ।
गत वर्ष सन् २०२५ को गणनामा ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी भेटिएका थिए । गत वर्षको तुलनामा यस वर्ष प्रजातिमा पाँच र सङ्ख्यामा पाँच हजार ८७७ ले कमी आएको छ ।
विभागका वरिष्ठ पारिस्थितिकविद् एवं सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार सन् १९८७ देखि ‘वेटल्याण्ड्स इन्टरनेशनल’ को विश्वव्यापी समन्वयमा नेपालमा निरन्तर जलपन्छी गणना हुँदै आएको छ ।
यस वर्षको गणना गत जनवरी ३ देखि १८ ९पुस १९ देखि माघ ५ गते० सम्म सञ्चालन गरिएको थियो । जसको नतिजा विश्व सिमसार दिवस (फेब्रुअरी २) को अवसरमा आज सार्वजनिक गरिएको हो ।
यस वर्षको गणनाका लागि देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सोअन्तर्गतका ७८ वटा उप–क्षेत्रहरूमा ४११ स्वयंसेवक गणक, पंक्षीविद् र कर्मचारीहरू परिचालन गरिएका थिए ।
तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र वरपर सबैभन्दा बढी २५ हजार ३५८ जलपन्छी फेला परेका छन्, यद्यपि यो सङ्ख्या गत वर्षको २७ हजार ५६४ भन्दा कम हो ।
दोस्रो स्थानमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चराको सङ्ख्या बढेर २२ हजार ८१७ पुगेको छ । गत वर्ष निकुञ्जका ताल तलैया तथा सिमसार क्षेत्रमा २० हजार ४८६ जलपन्छी देखा परेका थिए । जगदीशपुर जलाशयमा यस वर्ष १० हजार २८२ चरा भेटिएका छन् । गत वर्ष १२ हजार ८३२ जलपन्छी देखा परेका थिए ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्यामा भारी गिरावट आएको छ । गत वर्ष १० हजार १८५ चरा भेटिएको उक्त क्षेत्रमा यस वर्ष पाँच हजार ८९० मात्र अभिलेख गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको रारा तालमा यस वर्ष २५३ जलपन्छीको अभिलेख गरिएको छ । सोही तालमा गत वर्ष भने ५०२ जलपन्छी फेला परेका थिए ।
त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पनि चराको सङ्ख्या एक हजार ६७८ बाट घटेर ५३६ मा खुम्चिएको छ । बर्जुतालमा यस वर्ष चार हजार ५२ जलपन्छी देखा परेका छन् भने गत वर्षको गणनामा छ हजार २३८ जलपन्छी देखा परेका थिए ।
अर्कोतर्फ, धनुषाधाम र कमला नदी क्षेत्रमा यस वर्ष दुई हजार ५१, हेटौँडाका ताल तलैया र नदीमा २३७, लुम्बिनी क्षेत्रमा चार हजार २०९, राप्ती नदी (दाङ)मा एक हजार १९४, घोडाघोडी ताल ९कैलाली०मा एक हजार १५० नाखोडी ताल कैलालीमा ३१४ र पोखरा उपत्यकाका सिमसारहरूमा तीन हजार ७६४ चरा फेला परेका छन् ।
ती क्षेत्रमा विगतको वर्ष भन्दा चराको सङ्ख्यामा केही सुधार देखिएको नेपाल पन्छीविद् सङघका वरिष्ठ चरा तथा वन्यजन्तुविद् लक्ष्मण पौडयालले बताए । यसैगरी उनका अनुसार पुरैनी र बन्धा ताल बेलौरी कञ्चनपुरमा यस वर्ष दुई हजार ३५२ जलपन्छी फेला परेका छन भने गत वर्षको गणनामा ती दुवै तालमा एक हजार ३४९ जलपन्छी फेला परेका थिए ।
काठमाडौँको मनहराफाँटमा ३७९ चरा भेटिएका छन् भने टौदह र बागमती क्षेत्रमा सङ्ख्या घटेर १६४ पुगेको छ । जगदीशपुर जलाशयमा यस वर्ष १० हजार २८२ जलपन्छी भेटिएका छन भने गत वर्ष १२ हजार ८३२ जलपन्छी देखा परेका थिए ।
टौदह र बागमती नदी काठमाडौँमा यस वर्ष १६४ जलपन्छी फेला परेका छन् । सो क्षेत्रमा गत वर्ष २०४ जलपन्छी अभिलेख गरिएका थिए ।
“सिमसारमा आश्रित चराहरूको अवस्था बुझ्न, संरक्षणका लागि जनचेतना जगाउन र नीति निर्माणमा सहयोग पुर्याउन यो गणना गरिएको हो”, वरिष्ठ चरा तथा वन्यजन्तुविद् पौडयालले भने ।
प्रकाशित समय : २२:३१ बजे





















