गृहपृष्ठ स्विट्जरल्यान्ड आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुग्यो
स्विट्जरल्यान्ड आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुग्यो
स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको अवसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
शनिबार अस्पतालमा उपचाररत १८ वर्षीय एक स्विस किशोरको मृत्यु भएपछि यो संख्या बढेको हो । यो घटनालाई स्विट्जरल्यान्डको आधुनिक इतिहासकै सबैभन्दा खराब विपत्तिमध्ये एक मानिएको छ ।
ज्यान गुमाउनेहरू १४ देखि ३९ वर्ष उमेर समूहका छन्, जसमा अधिकांश किशोर–किशोरीहरू रहेका छन् । मृतक ४१ मध्ये २३ जना स्विस र १८ जना विदेशी नागरिक छन् ।
प्रारम्भिक अनुसन्धानका अनुसार स्याम्पेनको बोतलमा जोडिएको ‘स्पार्कलर्स’ छतको ध्वनिरोधक फोमको सम्पर्कमा आउँदा आगो सल्किएको विश्वास गरिएको छ । उक्त बारमा सन् २०१९ देखि कुनै पनि अग्नि सुरक्षा निरीक्षण नभएको खुलासा भएको छ ।
बारका मालिकहरूमाथि ‘लापरबाहीपूर्ण हत्या’को आरोपमा आपराधिक अनुसन्धान सुरु गरिएको छ । यस घटनामा आफ्ना नागरिक गुमाएको इटालीले बार मालिकलाई धरौटीमा रिहा गर्ने स्विस अदालतको निर्णयप्रति कडा आपत्ति जनाएको छ । यसका कारण दुई देशबिचको कूटनीतिक सम्बन्धमा समेत तनाव उत्पन्न भएको छ ।
प्रकाशित समय : ११:२४ बजे





















