global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दुई वर्षपछि सुबीले संसार देख्दा

दुई वर्षपछि सुबीले संसार देख्दा

दुई वर्षपछि सुबीले संसार देख्दा

गोरखा । गोरखाको अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षीया सुबी गुरुङले दुई वर्षपछि पुनः संसार देख्न सफल भएकी छन्। लामो समयदेखि मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएकी उनलाई छोरा कान्छा गुरुङले बोकेर अस्पतालसम्म पुर्‍याएका थिए।

शल्यक्रियापछि आँखाको पट्टी खोलिएसँगै सुबीको अनुहारमा खुसीको सीमा रहेन। स्वास्थ्यकर्मीले आँखा सफा गरेर चस्मा लगाइदिएपछि उनले मान्छे चिन्न थालेकी छन्। आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिँदै उनी अब लौरो र सहाराबिना नै हिँड्न सक्ने भएकी छन्।

सुबी मात्र होइन, भच्चेकमा सञ्चालित निःशुल्क आँखा शिविरमा उनीजस्तै २७ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ। अजिरकोट–३ डिहिटारका ९१ वर्षीय गुणनिधि अधिकारी पनि शल्यक्रियापछि आँखा देख्ने भएपछि दंग छन्।

बुबाले आँखा देखेपछि छोरा काजिराम अधिकारीले पनि ठूलो राहत महसुस गरेका छन्। उमेर ढल्केका बेला आँखा नदेख्दा निकै कष्ट भोगेका अधिकारी अब आफैँ हिँडडुल गर्न सक्ने भएका छन्।

यस्तै, वर्षौँदेखि दृष्टि गुमाएका सिम्जुङका ६३ वर्षीय पूर्णबहादुर तामाङ र मुच्चोकका ६५ वर्षीय नक्कले तामाङको जीवनमा पनि नयाँ उज्यालो फर्किएको छ।

अजिरकोट गाउँपालिकाको आयोजना तथा मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोगमा यो शिविर सञ्चालन गरिएको हो। शिविरमा हिमालय आँखा अस्पताल पोखरा, रुइत फाउन्डेसन र आइ केयर फाउन्डेसनले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।

हिमालय आँखा अस्पतालकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा नेतृत्वको टोलीले सेवा प्रदान गरेको यस शिविरबाट अजिरकोट र छिमेकी लमजुङको दूधपोखरी गाउँपालिकाका गरी कुल ४१७ जनाले आँखाको जाँच गराएका छन्।

प्रकाशित समय : ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु