global ime bank Long Banner Ad

गृहपृष्ठ क्रिकेट खेल्दा खेल्दै खेलाडीको निधन

क्रिकेट खेल्दा खेल्दै खेलाडीको निधन

क्रिकेट खेल्दा खेल्दै खेलाडीको निधन

भारतमा घरेलु क्रिकेट प्रतियोगिताका क्रममा एक खेलाडीको मैदानमै मृत्यु भएको छ । भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी खेलिसकेका मिजोरमका खेलाडी के. लालरेमरुआटाको खेलका क्रममा मैदानमै निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बिहीबार मिजोरममा एक स्थानीय प्रतियोगिताका क्रममा उनको हृदयघातका कारण निधन भएको हो । ३८ वर्षीय के. लालरेमरुआटा दोस्रो श्रेणीको प्रतियोगितामा वेंगनुआई रेडर्स क्रिकेट क्लबबाट खेलिरहेका थिए ।

समाचारमा जनाइएअनुसार ब्याटिङ गरेर पेभेलियन फर्किनेक्रममा उनलाई हृदयघात भएको थियो । अचानक मैदानमा ढलेका उनको तत्कालै निधन भएको थियो । चिकित्सकहरूले उनको मृत्यु हृदयघातका कारण भएको जनाएका छन् ।

के. लालरेमरुआटा मिजोरम क्रिकेटमा चर्चित नाम थियो । उनले दुईपटक रणजी ट्रफीमा मिजोरमको प्रतिनिधित्व गरेका थिए । यसका अतिरिक्त, उनले मिजोरमको टोलीबाट सैयद मुश्ताक अली ट्रफीमा पनि सात खेल खेलेका थिए ।

घरेलु क्रिकेटका अतिरिक्त उनले स्थानीय स्तरको विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएका थिए । मिजोरम क्रिकेट संघले उनको निधनबाट अपूरणीय क्षति भएको जनाएको छ । ‘हामी के. लालरेमरुआटाको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । ईश्वरसँग के. लालरेमरुआटाको आत्माको चिर शान्तिको कामना पनि गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु