global ime bank Long Banner Ad

गृहपृष्ठ गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्त्वाकांक्षी लक्ष्य राखेको छ ।

सङ्गठनका उच्चाधिकारीहरूले यस अभियानले गाजाको गम्भीर रूपमा कमजोर बनेको स्वास्थ्य प्रणालीलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

डब्लुएचओ र यसका साझेदार संस्थाहरूले नोभेम्बर ९ देखि शुरू गरिएको खोप अभियानको प्रारम्भिक चरणमा पहिलो आठ दिनभित्र तीन वर्षमुनिका १० हजारभन्दा बढी बालबालिकालाई खोप दिन सफल भएको जानकारी दिए ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार अभियानको पहिलो चरण शनिबारसम्म विस्तार गरिएको छ र यसमार्फत बालबालिकालाई दादुरा, गलफुलो, रुबेला, डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस बी, क्षयरोग, पोलियो, रोटाभाइरस तथा निमोनियाजस्ता गम्भीर रोगहरूबाट जोगाउने लक्ष्य राखिएको छ ।

अभियानको दोस्रो र तेस्रो चरण क्रमशः डिसेम्बर र जनवरी महिनामा सञ्चालन हुने तय गरिएको छ । यी अभियानलाई युनिसेफ, संयुक्त राष्ट्र शरणार्थी सहायता संस्था (युएनआरडब्लुए) तथा हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अघि बढाइनेछ ।

महानिर्देशक गेब्रेयससले युद्धविरामले निरन्तरता पाइरहेको देखेर आफू प्रोत्साहित भएको बताउँदै यसले डब्लुएचओ तथा साझेदारहरूलाई गाजामा आवश्यक स्वास्थ्य सेवा विस्तार गर्न तथा ध्वस्त भइसकेको स्वास्थ्य पूर्वाधारको पुनःउपकरण र पुनर्निर्माणमा सहयोग पुर्‍याउन सहज भएको उल्लेख गरे ।

यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित योजनालाई समर्थन जनाउँदै मतदान गरेको थियो । सो योजनाले इजरायल र हमासबीच गत अक्टोबर १० मा लागू भएको युद्धविराम कायम राख्न सघाएको बताइन्छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गराइएको रक्तपातपूर्ण आक्रमणपछि शुरू भएको दुई वर्षभन्दा लामो शत्रुताले गाजालाई अत्यन्त क्षतिग्रस्त बनाएको छ ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु