गृहपृष्ठ गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने

काठमाडौं । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी योजनालाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।
प्रधानमन्त्री नेतन्याहूले यसलाई एक ऐतिहासिक विकासको संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन् । यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबीच सहमति भएको थियो ।
युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौं प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ ।
इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागु हुने अपेक्षा गरिएको छ ।
इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहने गरी एक निश्चित रेखामा फिर्ता हुनेछ । गत हप्ता ह्वाइट हाउसले वितरण गरेको नक्साअनुसार, यो इजरायली सेना फिर्ता हुने तीन चरणमध्ये पहिलो हो ।
त्यसपछि, ७२ घण्टाको समय सुरु हुनेछ, जसमा हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ । त्यसपछि, मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ । यद्यपि, यसमा कति समय लाग्नसक्छ भन्ने स्पष्ट छैन ।
प्रकाशित समय : ०७:५० बजे