nmb bank

गृहपृष्ठ ‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गर्ने सबैलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गर्ने सबैलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गर्ने सबैलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा आगामी असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको छ । सरकारले सहिदका परिवारलाई क्षतिपूर्तिबापत नियमित दिँदै आएको १० लाख र अन्य खर्चबापत थप पाँच लाख थप गरी १५ लाख सहयोग गर्ने निर्णय गरेको उनले बताए । अर्थ र गृह मन्त्रालयले तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उक्त क्षतिपूर्ति प्रदान गरिने छ ।

बैठकले घाइतेको निःशुल्क उपचार, शव सम्बन्धित स्थानमा लैजानुपरेमा निःशुल्क व्यवस्था र दाहसंस्कारमा सघाउने निर्णय गरेको छ । बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए । सोही आयोगको प्रतिवेदनका आधारमा आवश्यक काम गरिने उनको भनाइ छ ।

यसैगरी सहादत प्राप्त गर्ने सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ । बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु