global ime bank Long Banner Ad

गृहपृष्ठ चेपाङ समुदायले न्वाँगी पर्व सामूहिक रुपमा मनाउने

चेपाङ समुदायले न्वाँगी पर्व सामूहिक रुपमा मनाउने

चेपाङ समुदायले न्वाँगी पर्व सामूहिक रुपमा मनाउने नवाङ्गी (छोनाम) पर्व मनाउने सम्बन्धमा पत्रकार सम्मेलन नारायणगढ (चितवन), १९ भदौः चेपाङ् समुदायले आफ्नो प्रमुख सांस्कृतिक पर्व नवाङ्गी (छोनाम) मनाउने सम्बन्धमा बिहीबार भरतपुरमा नेपाल चेपाङ सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनका सहभागीहरु । यसवर्ष भदौ २२ गते नवाङ्गी (छोनाम) परेको हुँदा चितवनको इच्छाकामना गाउँपालिका–६, कालिखोलामा विभिन्न कार्यक्रमसहित पर्व मनाइने तयारी गरिएको छ । तस्बिरः सनद अधिकारी÷रासस

सिमान्तकृत समुदायका रुपमा रहेको चेपाङ समुदायले न्वाँगी (छोनाम) पर्व सामूहिक रुपमा इच्छाकामना गाउँपालिकामा मनाउने भएका छन् । नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा इच्छाकामना गाउँपालिका–६ कालिखोलामा विभिन्न कार्यक्रम गरी मनाइने भएको हो ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही भदौ २२ गते पर्ने न्वाँगी पर्व भव्यरुपमा मनाउने तयारी गरेको जनाएको हो । चितवनसहित चेपाङ समुदायको बसोबास रहेका जिल्लाहरु मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका चेपाङ समुदायको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

सङ्घका अध्यक्ष गोविन्द चेपाङका अनुसार नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै प्रकृतिलाई चढाएर खाने गरिन्छ । यो चेपाङ समुदायका लागि नयाँ वर्ष पनि हो । यो दिन चेपाङहरुले काँक्रो, अमिलो, पिँडालु-गाभा, मकै, कागुनो, घैयाधानले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।

अध्यक्ष चेपाङले भने, “संस्कार, संस्कृति, भाषा लोपोन्मुख हुँदै छ । यसलाई संरक्षण गर्न हामीले सामूहिक रुपमा न्वाँगी पर्व मनाउने गरेका हौँ ।”

नेपालको सात जिल्लमा ८४ हजार ३६४ जना चेपाङको जनसङ्ख्या छ । जसमध्ये चितवनमा सबैभन्दा बढी ३५ हजार ६३७ जना छन् । मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६०, गोरखामा चार हजार २६८ र बाँकी अन्य जिल्लामा छरिएर बसेका छन् ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु