काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नारायणगढको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर

1.25K
shares

भरतपुर महानगरपालिकाअन्तर्गत मुख्य बजार क्षेत्र नारायणगढलगायत विभिन्न स्थानमा पार्किङ समस्या बढेपछि महानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ ।

मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या बढेको छ । पार्किङ समस्या समाधान गर्न महानगरले सक्रियता देखाएको छ । महानगर यातायात शाखाका प्रमुख बालकृष्ण थपलियाले बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न सम्भाव्यता स्थानहरू पहिचान, अध्ययन तथा अवलोकन गरिएको जानकारी दिए।

महानगरको साना तथा निजी सवारीसाधन पार्किङ व्यवस्थापन कार्यविधि, २०८१ अनुसार उपप्रमुखको संयोजकत्वमा अनुगमन तथा नियमन समिति गठन गरिएको र उक्त समितिको निर्णयअनुसार काम अगाडि बढाइएको शाखा प्रमुख थपलियाले जानकारी दिए । उनका अनुसार नारायणगढको लायन्सचोकस्थित प्रस्तावित बहुउद्देश्यीय भवनको खाली जग्गा तथा पुलचोकस्थित नारायणी नदी पश्चिम किनारको खाली स्थानलाई तत्कालका लागि पार्किङस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

“महानगरको आर्थिक ऐन २०८२ र कार्यविधि २०८१ अनुसार पार्किङ शुल्क असुली गरी व्यवसाय सञ्चालन गर्न इच्छुक सङ्घ-संस्थाबाट निवेदन माग गर्न सूचना प्रकाशित गरिनेछ । गतवर्ष पेस गरिएका प्रस्तावका निवेदकहरूसँग संवाद प्रक्रिया अघि बढाइएको छ”, शाखा प्रमुख थपलियाले बताए ।

कार्यविधिको दफा २ (ग) अनुसार सेवा प्रदायक सार्वजनिक सङ्घ÷संस्थाले निःशुल्क पार्किङ सेवा दिन सक्ने व्यवस्था गरिएको छ । त्यसअनुसार सार्वजनिक सूचना प्रकाशन गरी प्रचारप्रसार गरिने उनले बताए । त्यसैगरी कार्यविधि विपरीत शुल्क असुली गर्दै आएकालाई तत्काल रोक लगाइ राजस्व शाखामार्फत पत्राचार गरी नियमित अनुगमन गरिने निर्णय भएको छ ।

महानगरले सम्भाव्य पार्किङ क्षेत्र पहिचान गर्न सरकारी तथा गैरसरकारी निकाय, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर अस्पताल, राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा, जिल्ला समन्वय समिति, मालपोत कार्यालय, बालकुमारी मावि आदिसँग समन्वय गर्दै छलफल अगाडि बढाउने निर्णय गरेको उनले बताए । साथै, महानगरको भवन निर्माण इजाजत तथा नक्सा शाखासँग मिलेर बेसमेन्ट पार्किङ भएको भवनको अभिलेख सङ्कलन गर्ने निर्णय भएको शाखा प्रमुख थपलियाले बताए ।

सार्वजनिक सडक तथा फुटपाथमा सवारीसाधन पार्किङ गर्ने प्रवृत्तिले सहर अस्तव्यस्त बनाएको, ट्राफिक जाम बढाएको र पैदलयात्रीलाई असहज बनाएको जनगुनासो आइरहेकाले सार्वजनिक स्थानमा पार्किङलाई निरुत्साहित गर्ने नीति महानगरको रहेको महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए ।