गृहपृष्ठ ‘पूर्णज म्यूजियम रिसोर्ट’ : जहाँ काष्ठकला र नेवारी स्वादका पर्यटक दोहोर्याएर पुग्छन्
‘पूर्णज म्यूजियम रिसोर्ट’ : जहाँ काष्ठकला र नेवारी स्वादका पर्यटक दोहोर्याएर पुग्छन्
नेपाली सभ्यता र संस्कृतिको विकासको इतिहासमा नेपालको कलाको महत्वपूर्ण स्थान छ । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान अझ महत्वपूर्ण छ ।सिमेन्ट, गिट्टी र वालुवाको बढ्दो प्रयोगले काष्ठकला हराउँदै गएको छ ।
समय र प्रविधिले कला क्षेत्रमासमेत प्रभाव पारिरहेका बेला काष्ठकला पनि पुस्तेनी एवम परम्परागत सीपमा मात्र सिमित हुन पुगेको छ । तर समाजमा सबै एकनासमा मानिस छैनन् । कसैले परम्परालाई जोगाउन उदाहरणीय कर्म गरिरहेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका–१३ मा रहेको झरुवाराशीमाकिरण कुमार स्थापितले काष्ठकलाको मात्र प्रयोग गरेर‘पूर्णज म्यूजियम रिसोर्ट’ खोलेका छन् ।व्यवसाय मात्र नभइ परम्परा र काष्ठकलाको संरक्षण गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याएको उनको दाबी छ ।
जहाँबाट हिमाल एवम उपत्यकाको रमणीय दृश्य समेत मज्जाले देख्न सकिन्छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट ५० करोडको लगानीमा निर्माण गरिएको हो ।
स्थापितहरुको पुस्तेनी काम नै काष्ठताकला हो । उनले त्यही काष्ठकलालाई रिसोर्टको रुपमा पनि परिणत गरेका हुन् । हुन त उनले व्यवसायिक सफलताको लागि भन्दा पनि काष्ठकलाको संरक्षण र स्थापित परिवारको विरासत भाबी पुस्तालाई बुझाउने उद्देश्यले तीन वर्षअघि रिसोर्ट सञ्चालनमा ल्याएका थिए । तर उनलाई आज उक्त रिसोर्टले व्यवसायिक रुपमा पनि अव्बल बनाएको छ ।
फरक र पृथक शैलीको यो काठमाडौं उपत्यकाकै पहिलो रिसोर्ट भएको स्थापितको दाबी छ । जहाँ काष्ठकलाको मात्र प्रयोग गरेर बनाइएको छ । जसको कारणले पनि उक्त रिसोर्टमा खाना–बस्न बाहेकपनि अवलोकनको लागि मात्र पनि आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गर्छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले रिसोर्टमा कला र ग्राफ्टलाई विशेष प्राथमिकता दिइएको कारण पनि अरु रिसोर्टभन्दा फरक रहेको दाबी गरे । उनको अनुसार रिसोर्टभित्र एउटा म्यूजियम पनि राखिएको छ जसले रिसोर्टलाई थप आकर्षित गरेको छ । काठको काम कसरी गरिन्छ, पाटी–पौवा एवम मन्दिरहरुमाकस्तो प्रकारको कलाको प्रयोग गरिएको हुन्छ भन्ने विषयको जानकारी म्युजियमबाट नै लिन सकिन्छ ।
उनले भने,‘यो रिसोर्ट अरुभन्दा भिन्न छ । किनकी यहाँ रिसोर्टमात्र भनेर टार्गेट गरेको छैनौं । आर्ट र ग्राफ्टलाई विशेष प्राथमिकता दिएको छौं । यहाँ राखिएका हरेक झ्याल ढोकाको छुट्टटै अर्थहरु छन् । किलाबिना पूरानो टेक्निकमा निर्माण गरिएको मन्दिरहरु छ । रिसोर्टभित्र एउटा म्यूजियम पनि राखिएको छ । रिसोर्ट आफंैमा म्यूजियम नै हो । काठबाट कसरी सामग्रीहरु बन्छ र काठको काम कसरी गरिन्छ । पाटी एवम मन्दिर कसरी बनाइन्छ र कुन कुन उपाएहरु लगाइन्थ्यो भन्ने म्यूजियम बनाइएको छ ।त्यो म्यूजियम रिसोर्टको सबैभन्दा बढि विशेषता बोकेको छ ।’
रिसोर्टमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो रहेको बताउँदै उनले यूरोपियन पर्यटकहरु पनि आउने गरेको जानकारी दिए । उक्त रिसोर्टमा पिकनिक स्पट समेत राखिएको छ । जसको कारण मनोरञ्जन गर्न रुचाउनेहरुको उपस्थिति पनि उत्साहजनक छ ।
‘अहिले हामीले अनुभव गरेअनुसार लोकलहरुले रुचाइरहेको पाएका छौं । हाम्रो आर्ट एण्ड क्राप्टमा चुम्बकीय शक्ति छ भन्छु । युरोपियन जति पनि पहिलो पटक आइराख्नु भएको छ पुनः फर्केर आउने गर्नुहुन्छ । पिकनिकमा रमाउनेहरुका लागि पनि सोही अनुसारको व्यवस्थापन गरेका छौं,’ उनले भने ।
सञ्चालक विस्थापित रिसोर्टमा आउने पर्यटकहरुले वास्तुकलासँग सम्बन्धित रहेकाले सकारात्मक उर्जा मिलेकोे प्रतिक्रिया दिने गरेको बताउँछन् । त्यतिमात्र मात्र होइन काष्ठकलाको अवलोकन गर्नेकतिपयलेसोही अनुसारका काठका सामग्रीहरु अर्डरसमेत गर्ने गरेका छन् ।
‘यहाँ जुन हस्तकलाका समानहरु निर्माण हुन्छन् ति वास्तुकलासँग सम्बन्धित छन् । त्यसैले धेरैलाई मन परेको छ,’ उनले भने । काष्ठकलाको सीपलाई जोगाउनका लागि युवाहरुको कमै मात्रामा सहभागिता रहेको पाइन्छ ।तर यो म्यूजियमले अबको नयाँ पुस्ताले आकर्षित गर्ने उनको दाबी छ ।
उनी भन्छन्,‘म्युजियमले नयाँ पुस्ताले पनि यो काम कसरी हुन्छ भनेर फिल गर्न सक्छ । अहिले पनि स्कूलको विद्यार्थीहरु, आर्टिटेक सिकिरहेकाहरुलाई सिक्ने राम्रो माध्यम बनेको छ । त्यो नै हाम्रो मुख्य उद्देश्य हो ।’
राज्यको सहयोगको अपेक्षासहित लगानीको पाटोमा जोखिम मोलेर रिसोर्ट खोलेको उनी बताउँछन । सरकारले राजश्व बढी लिने अवस्थाले गर्दा आफूहरु मारमा परेको गुनासो उनले गरे ।
उनले थप्दै भने,‘लगानीको पाटोबाट हेर्दाखेरि रिक्स मोलेका छौं । यहाँ अहिले पनि सडक पहुँच राम्रो छैन् । राज्यले पनि केही त गर्ला भनेरै काम सुरु गरेका हौं । तर राज्यलाई झकझक्याउन र आफ्ना मागहरु राखिरहेका छौं । तर राजश्व बढी लिने अवस्थाले गर्दा गार्हो बनाएको छ । स्थानीय तहले लिने ट्याक्समा अलिकति गुनासो छ ।’
रिसोर्टलाई आउने दिनमा म्युजियमकै रुपमा अगाडि बढाउने उनको योजना छ। ‘अबको २० देखि २५ वर्षमा यो आफैं म्युजियम बन्नेछ,’ भावी अपेक्षा सुनाउँदै उनले भने,‘यसलाई अब एउटा म्युजियमकै रुपमा अगाडि बढाउने छु । २० देखि २५ वर्षमा यो आफैं म्युजियम बन्नेछ भन्ने आशा गरेको छु । भावी पुस्तालाई एउटा नमूनाको हब बन्नेछ । प्रतिक्रियाहरु पनि सकारात्मक पाइरहेको छु,’ उनले भविष्य सुनाए ।
यस्तै, उनका छोरा बैभव स्थापित पनि आफ्ना बाबुसँगै काष्ठकलाको संरक्षणमा लागेका छन् । आफू स्थापित परिवारमा जन्मिएको कारणले पनि व्यवसायिकसँगै काष्ठकलालाई कसरी बचाउने भनेर लागि परेको बताउँछन् ।
कलाकारको अभावले पुस्तान्तरण हुन नसकेको बताउँदै उनले पाउनुपर्ने पारिश्रमिक दिन सकेपनि बढ्छ जस्तो लागेको उनले बताए ।
उनले भने,‘म पहिलेदेखि नै यही माहोलमा हुर्किए । हजुरबुबा र बुवाले गर्दै आउनुभएको कामप्रति उत्साहित थिए । मलाई पनि केही गर्छु भन्ने सोच थियो । म व्यवसायसँगै काष्ठकलालाई कसरी बचाउने र यसलाई ठुलो हिसावमा कसरी लाने भनेर गर्न खोज्दैछु । अहिले पहिलेको भन्दा परिवर्तन भएको छ । काष्ठकलाका कलाकारहरु घट्दै गएका छन् । कलाकारको अभावले पुस्तान्तरण हुन सकेको छैन । तर पाउनुपर्ने पारिश्रमिक दिन सकेपनि राम्रो हुन्थ्यो जस्तो लाग्छ ।’
त्यस्तै काष्ठकलाको महत्वबारे बुझाईमा कमी हुँदापनि राम्रा कलाहरु बेच्ने ठाउँ नभएर घट्दै गइरहेको उनको बुझाई छ । आफ्नो कलालाई बाहिर कसरी फैलाउने भन्ने सोच राखेर अगाडि बढिरहेका उनी पहिलाको जस्तो कलाकार नहुनु र कला पुस्ता हस्तान्तरण नहुनु चुनौतीपूर्ण रहेको बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो रिसोर्ट नेवारी माहोलमा छ । नेवारीलगायतका विभिन्न परिकार, सुविधा सम्पन्न रुम र आकर्षक एवम सफाचट रेष्टुरेन्टले रिसोर्टको पहिचान झल्किन्छ ।
प्रकाशित समय : ०८:१२ बजे



















