गृहपृष्ठ बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ भएको छ ।
यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि आजदेखि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।
आजको प्रदेशसभा बैठकमा २६ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखे । प्रदेशसभा सदस्यहरुले जनताको चाहना र प्रदेशको आवश्यकताअनुसार बजेट नआएकाले त्यसलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रदेशसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । बजेटमाथिको छलफलले भोलि पनि निरन्तरता पाउने उनले बताए । आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि सभामा विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
सो विधेयक बैठकमा छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले घोषणा गरेका थिए।
प्रकाशित समय : २०:४० बजे



















