गृहपृष्ठ महासंघका अध्यक्ष ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तका मन्त्री वाङ शीबीच भेटवार्ता
महासंघका अध्यक्ष ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तका मन्त्री वाङ शीबीच भेटवार्ता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीबीच भेटवार्ता भएको छ।
चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य समेत रहेका शीसँग महासंघको सचिवालय टेकुमा शुक्रबार भेटवार्ता भएको हो।
भेटका अवसरमा दुवै देशको आर्थिक तथा कुटनतिक सम्बन्ध, व्यापार लगानी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्यका लागि आग्रह गरे।
पर्यटन, पूर्वाधार, ऊर्जाजस्ता क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यको सम्भावना रहेको उल्लेख गरे।
नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न गरेको पहलकाबारे जानकारी दिँदै उनले महासंघको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको जानकारी गराएका थिए।
नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिँदै ढकालले भने, ‘यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउनेछ र चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्नेछ।’
ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन र कृषि प्रशोधनजस्ता क्षेत्रमा नेपालमा लगानीको राम्रो अवसरहरू रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले ग्वाङ्दोङ सरकारसँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र संघसंस्थासँग जोडिन सहयोग गर्न आग्रह गरे।
प्रकाशित समय : २०:५४ बजे



















