global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

जिल्लाका १० वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर, गौर, राजदेवी, इशनाथ, गढीमाई, माधवनारायण, बौधीमाई, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका हुन् ।

जिल्लाको चन्द्रपुर नगरपालिकाले आगामी आवका लागि एक अर्ब २१ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ । सोमबार चन्द्रनिगाहपुर बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आवका लागि एक अर्ब २१ करोड ५९ लाख ५१ हजार छ सय ४० बजेट प्रस्ताव गरेको हो ।

अधिवेशनमा नगर उपप्रमुख जयमाला चौधरीले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा नगरले विगत वर्षका अधुरा आयोजना सम्पन्न गर्नेमा जोड दिए । करिब छ करोडमा निर्माण भइरहेको शीतभण्डार आगामी वर्षभित्र सम्पन्न गर्नेगरी योजना ल्याइएको उहाँले जानकारी दिए । नगरलाई पूर्ण बालश्रममुक्त अभियान र बालविवाहमुक्त वडा घोषणा कार्यक्रमलाई प्रोत्साहन गरिने छ ।

नगरसभा बैठकमा मधेस प्रदेशका सांसद युवराज भट्टराईले विकासका काममा सबै जनप्रतिनिधि एकजुट भएर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । नगर क्षेत्रको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्न आफू तयार रहेको बताए ।

नगरप्रमुख सञ्जयकुमार काफ्लेले आगामी आवमा जनताका माग सम्बोधन हुनेगरी बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए । विकास, निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गरिने उनको भनाइ छ ।

नगरपालिकाले चालु आवमा रु एक अर्ब ४७ करोड ३६ लाख १८ हजार ८२३ विनियोजन गरेको थियो । उक्त बजेटको तुलनामा आगामी आवमा २५ करोड ७७ लाख कम विनियोजित भएको छ ।

जिल्लाका १८ स्थानीय तहमध्ये हालसम्म १० वटाले नगरसभा सम्पन्न गरेका छन् भने वृन्दावन, गुजरा, मौलापुर, देवाही गोनाही, फतुवा विजयपुर र परोहा नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् ।

गत शनिबार गढीमाई नगरपालिकाले ५४ करोड ९१ लाख ७२ हजार १०८ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले कूल बजेटमध्ये पुँजीगततर्फ १९ करोड १५ लाख ४९ हजार र चालूतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ विनियोजन गरिएको जानकारी दिए।

शनिबार इशनाथ नगरपालिकाले ११औँ नगरसभाको खुलासत्र सम्पन्न गरेको थियो । आव २०८२/८३ का लागि नगर उपप्रमुख प्रवेज आलमले ४९ करोड ६५ लाख ५२ हजार ४९७ को बजेट प्रस्तुत गरेको हो ।

राजपुर नगरपालिकाले ५७ करोड बजेट खर्च हुने अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेको थियो । नगरप्रमुख डा. मोहम्मद राजिक आलमले सामाजिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरे ।

कटहरिया नगरपालिकाले आव २०८२/८३ का लागि ५४ करोड २५ लाख ५२ हजार ४७५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा नगरप्रमुख अजयप्रकाश जैयसवालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरभित्रका नागरिकको विभिन्न सङ्क्रमण तथा सबै प्रकारका रोग र विपद्बाट जीवनरक्षा गर्दै सहज र सुरक्षित जीवनयापन गर्ने वातावरण बनाइने बताए ।

प्रकाशित समय : ०५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु