गृहपृष्ठ बैंकिङ क्षेत्र सुधार कार्यदललाई लगानीकर्ताको ७ बुँदे सुझाव
बैंकिङ क्षेत्र सुधार कार्यदललाई लगानीकर्ताको ७ बुँदे सुझाव
सेयर लगानीकर्ताहरूले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल समक्ष सातवटा मुख्य सुझाव पेस गरेका छन् । उनीहरूले राष्ट्र बैंकमार्फत आउने आगामी मौद्रिक नीतिमा स्पष्ट सुधारको अपेक्षा गर्दै विगतमा गरिएका नीतिगत त्रुटिहरू सच्याउन जोड दिएका छन् ।
नेपाल राष्ट्र बैंक अन्तर्गतको बैंकिङ क्षेत्र सुधार कार्यदलका संयोजकलाई बुझाइएको सुझावपत्रमा पुँजी बजारमैत्री नीतिको खाँचो रहेको उल्लेख गरिएको छ । विगतका मौद्रिक नीतिहरूले लगानीकर्ताको मनोबल कमजोर बनाएको तर्फ संकेत गर्दै, अब आउने नीतिले लगानी वातावरणलाई सशक्त बनाउनुपर्ने जोड लगानीकर्ताले दिएका छन् ।
लगानीकर्ताले हाल राष्ट्र बैंकले लागू गरेको एक व्यक्ति वा परिवारलाई अधिकतम १५ करोड रुपैयाँसम्ममात्र सेयर धितो राखेर कर्जा दिने व्यवस्था तत्काल हटाउन माग गरेका छन् । ब्रोकर संस्थामार्फत धितो कर्जा दिने स्पष्ट प्रक्रिया पूर्ण रूपमा कार्यान्वयन नहुँदासम्म यस्तो सिमाले लगानीकर्ताको सम्पत्ति सम्बन्धी मौलिक अधिकार कुण्ठित भएको गुनासो लगानिकर्ताको छ ।
सुझाब राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई आफ्नो वार्षिक नाफाबाट लगानीकर्तालाई दिने नाफा लाभांशमा लगाएको १५ प्रतिशतको सिमा तत्काल हटाउनुपर्ने भनिएको छ । जोखिम व्यवस्थापनका लागि आन्तरिक तयारी गरिसकेका संस्थाहरूलाई उनीहरूको क्षमता अनुसार नाफा वितरण गर्न स्वतन्त्रता दिइनुपर्ने सुझाव दिइएको छ ।
जनरल लगानीकर्ता संघका अध्यक्ष दीपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जीसी तथा नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरेले सोमबार उक्त सुझाव दिएका हुन् ।
सोमबार पेस गरिएको सुझाबमा बैंक तथा वित्तीय संस्थाले आफ्नो कोर पुँजीको आधारमा पुँजी बजारमा गरेको लगानी बिक्री गर्दा बार्षिक रूपमा तोकिएको सीमा पूर्ण रूपमा हटाउनुपर्ने माग गरिएको छ । यसले संस्थागत लगानीलाई उत्साहित गर्ने र बजारमा तरलता प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रकाशित समय : १४:२९ बजे



















