global ime bank Long Banner Ad

गृहपृष्ठ आइतबार अमेरिकासँग नयाँ वार्ताको योजना बनाएको इरानको भनाइ

आइतबार अमेरिकासँग नयाँ वार्ताको योजना बनाएको इरानको भनाइ

आइतबार अमेरिकासँग नयाँ वार्ताको योजना बनाएको इरानको भनाइ

इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ताको नयाँ चरण आइतबारका लागि योजना बनाइरहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता बिहीबार हुने अपेक्षा गरेको बताएपछि इरानको यस्तो भनाइ आएको हो ।

“इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण अर्को आइतबार मस्कटमा आयोजना गरिएको छ”, विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मङ्गलबार एक विज्ञप्तिमा भने ।

उनका अनुसार विदेशमन्त्री एवं मुख्य वार्ताकार अब्बास अराघचीले यस हप्ता नर्वेको ओस्लो फोरममा भाग लिने बताए । ओस्लो फोरम द्वन्द्व मध्यस्थकर्ताहरूको भेला हो ।

इरान र संयुक्त राज्य अमेरिकाले अप्रिलदेखि पाँच चरणको वार्ता गरेका छन् । यी वार्ताले सन् २०१५ को मुख्य शक्तिहरूसँगको सम्झौताको ठाउँमा नयाँ आणविक सम्झौता गर्न खोजेको छ । सन् २०१५ को सम्झौतालाई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा त्यागेका थिए ।

मे ३१ मा पाँचौँ चरणको वार्तापछि इरानले आणविक सम्झौताका लागि अमेरिकी प्रस्तावको ‘तत्वहरू’ प्राप्त गरेको बताएको थियो । अराघचीले पछि उक्त पाठमा ‘अस्पष्टताहरू’ रहेको बताए ।

इरानले सोमबार अमेरिकी प्रस्तावमा अघिल्लो वार्तालाई प्रतिबिम्बित गर्ने ‘तत्वहरूको अभाव’ रहेको र यसले मध्यस्थकर्ता ओमानमार्फत संयुक्त राज्य अमेरिकालाई ‘उचित, तार्किक र सन्तुलित’ प्रति–प्रस्ताव प्रस्तुत गर्ने बताएको छ ।

सैन्य कारबाहीबाट बच्न आणविक सम्झौता सम्भव छ कि छैन भन्ने कुरा यस हप्ता अमेरिका–इरानबीचको नयाँ वार्ताले स्पष्ट पार्न सक्ने ट्रम्पले बताएका छन ।

उनका अनुसार इरानसँगको पछिल्लो बैठक बिहीबार हुने अपेक्षा गरिएको थियो । यद्यपि तयारीसँग परिचित एक स्रोतले यो शुक्रबार वा शनिबार हुने सम्भावना रहेको बताएको छ ।

इरान र संयुक्त राज्य अमेरिका हालै इरानको युरेनियम संवर्धनलाई लिएर कूटनीतिक गतिरोधमा फसेका छन् । तेहरानले यसलाई ‘गैर–सम्झौता योग्य’ अधिकारका रूपमा रक्षा गरेको छ र वासिङ्टनले यसलाई ‘लक्ष्मण रेखा’ भनेको छ ।

इरानले हाल ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको छ । यो सन् २०१५ को सम्झौतामा तय गरिएको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै हो भने आणविक हतियारका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा केही कम छ ।

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियार प्राप्त गर्न खोजिरहेको आरोप लगाएका छन् । तेहरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु