गृहपृष्ठ धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति

धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति

धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति

बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पतालका रूपमा ५० श्ययामा सञ्चालित उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि एक सय श्ययामा स्तरोन्नति गरेको हो ।

जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले स्तरोन्नतिसँगै विशिष्टीकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । पचास श्ययाको अस्पतालबाट स्तरोन्नति नहुँदा अहिलेसम्म दरबन्दी थपिन नसकेको गत वर्ष नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भए पनि अस्पताल स्तरोन्नति नहुँदा पठनपाठनमा समस्या भएको बताउँदै स्तरोन्नतिपश्चात नर्सिङ पढाउन बाटो खुलेको डा तिवारीले जानकारी दिए । “अहिलेपनि एक सय २६ श्ययामा बिरामीको उपचार गरिरहेका छौैँ, तर नीतिगत रूपमा ५० श्ययाको मात्रै हुँदा समस्या थियो, दरबन्दी बढ्दा सेवामा सहजता आउँछ”, “एक सय श्ययामा स्तरवृद्धि गरेपछि अस्पतालमा दरबन्दी थपिनेछ भने स्वास्थ्य क्षेत्रमा गुणस्तर थपिनेछ, नर्सिङ पढाउन सहज हुनेछ ।” उनले भने ।

तिवारीका अनुसार अहिले अस्पतालमा २२ विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत छन् । विसं २०१५ मा धौलागिरि अस्पताल डिस्पेन्सरीका रूपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालका रूपमा सेवा सञ्चालन गरेको थियो ।

अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगामी वर्षमा बजेट व्यवस्थापन गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले  प्रदेश सरकारले नौ अस्पतालको एकमुष्ठ स्तरोन्नति गर्ने निर्णयअनुसार धौलागिरि अस्पताल स्तरोन्नति गरिएको हो ।

गण्डकी प्रदेशको यही जेठ १२ गते बसेको बैठकले नौ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । सरकारले अस्पतालको कर्मचारी संरचना र श्यया सङ्ख्या निर्धारण गरेको छ । धौलागिरि अस्पतालमा कर्मचारी दरबन्दी ९९ पुगेको छ ।

यसअघि बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ श्ययामा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । धौलागिरि आयुर्वेद अस्पताल स्तरोन्नतिपछिको सेवा दिने तयारीमा रहेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए।

प्रकाशित समय : ०५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु