गृहपृष्ठ प्रशिक्षकले कप्तानी खोसेपछि लेवान्डोस्कीले छोडे राष्ट्रिय टिम
प्रशिक्षकले कप्तानी खोसेपछि लेवान्डोस्कीले छोडे राष्ट्रिय टिम
पोल्याण्डका लागि सर्वाधिक खेल खेलेका र सबैभन्दा बढी गोल गरेका खेलाडी रोबर्ट लेवान्डोस्कीले राष्ट्रिय टोलीबाट बाहिरिएको घोषणा गरेका छन् । मुख्य प्रशिक्षक मिखाल प्रोबिएर्जसँग असन्तुष्ट उनले प्रोबिएर्जको नेतृत्वमा आफू राष्ट्रिय टोलीबाट खेल्न नसक्ने बताएका हुन् ।
बार्सिलोनाका स्ट्राइकर लेवान्डोस्कीले अहिलेको अन्तर्राष्ट्रिय खेल विन्डोमा टिममा नखेल्नुको कारण शारीरिक र मानसिक थकान भएको बताएका थिए । ३६ वर्षीय उनले बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा यो सिजनमा ५२ खेलमा ४२ गोल गरेका थिए । उनले यस सिजन ला लिगासहित तीन उपाधि जित्नमा टोलीलाई सहयोग गरेका थिए । यही कारण प्रशिक्षक प्रोबिएर्जले लेवान्डोस्कीलाई कप्तानीबाट हटाएका थिए र इन्टर मिलानका मिडफिल्डर प्योटर जेलिन्स्कीलाई अस्थायी कप्तान बनाएका थिए ।
जेलिन्स्कीको कप्तानीमा पोल्याण्डले शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा माल्डोभालाई २-० ले पराजित गरेको थियो । अब पोल्याण्डको अर्को खेल फिनल्यान्डसँगको विश्वकप छनोटको लागि हो, जुन मंगलबार हुनेछ । लेवान्डोस्कीले त्यसपछि सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट टाढा रहने घोषणा गरेका हुन्, तर भविष्यमा पुनः फर्किन सक्ने संकेत पनि दिएका छन् ।
उनले लेखेका छन्, “हालको परिस्थितिलाई ध्यानमा राख्दै र प्रशिक्षकमा विश्वास गुमेकाले गर्दा म राष्ट्रिय टोलीबाट टाढा रहने निर्णयमा पुगेको छु, जबसम्म उनी जिम्मेवारीमा रहन्छन्, म अझै पनि विश्वका उत्कृष्ट समर्थकहरूका लागि फेरि खेल्न पाउने आशा राख्दछु ।’
ह्यामस्ट्रिङ चोटबाट ग्रस्त भएका कारणा लेवान्डोस्कीले पछिल्लो समय इन्टरविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग र कोपा डेल रे को फाइनलमा रियल मड्रिडविरुद्धको जितमा बार्सिलोनाका लागि खेलेका थिएनन् । तर उनले सिजनको अन्तिम तीन लिग खेलमा फर्किएर दुई गोल गरेका थिए र बार्सिलोनाले स्पेनिस शीर्ष लिगको २८औं उपाधि जितेको थियो । राष्ट्रिय टिमको लागि नखेल्नुको कारणबारे उनले भनेका छन्, ‘चोटबाट फर्किएपछि मैले प्रशिक्षक प्रोबिएर्जलाई भनेको थिएँ, शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि म ठीक महसुस गरिरहेको छैन ।’
प्रकाशित समय : १३:५३ बजे


















