गृहपृष्ठ डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित
डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित
पोखरा– फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली पहिलो भएको छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना र फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा महिलातर्फ ताल पारी ‘बी’ सर्वोत्कृष्ट भयो ।
प्रतियोगितामा पुरुषतर्फ बाराही डुङ्गा घाट र स्विमिङ पुल घाट क्रमशः दोस्रो र तेस्रो बन्दा फिस्टेल घाटको समूह सान्त्वना भयो ।
महिलातर्फ गौरीघाट, पहारीघाट र जलारी दिदीबहिनी समूह क्रमशः दोस्रो, तेस्रो र सान्त्वना बने । महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले समान नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजारसहित ट्रफी, मेडल, प्रमाण–पत्र पाएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवर्द्धनका लागि फेवातालको संरक्षण अपरिहार्य भएकोमा जोड दिए ।
उनले शनिबारबाट फेवाको सीमामा पोल गाड्न थालिएको स्मरण गर्दै योजनाबद्ध रूपमा तालको संरक्षण गरिने उल्लेख गरे । भने, ‘फेवाताल यहाँको मुख्य पर्यटकीय स्थल हो, यसको संरक्षणमा तीन तहकै सरकार मिलेर काम हुन्छ ।’
प्रकाशित समय : १९:४८ बजे



















