global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ९५ हजार भ्याट दर्ता खारेजी

९५ हजार भ्याट दर्ता खारेजी

काठमाडौं– आन्तरिक राजस्व विभागले ९५ हजार ३ सय ४९ हजार करदाताको मूल्य अभवृद्धि कर (भ्याट दर्ता) खारेजी गरेको छ । विभागले गत शुक्रबार गरेको निर्णय अनुसार कर विवरण नबुझाएका त्यस्ता करदाताको भ्याट दर्ता खारेज गरेको हो ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ९८० मा लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको करकट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्तासमेत निलम्बन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था बमोजिम विभागले करदाताको सूची सार्वजनिक गरेको हो ।

विभागले वैशाख ११ मा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको थियो । खारेजी गर्न पूर्व विवरण बुझाउनको लागि १५ दिनको समय दिइएको थियो । तर, उक्त समयसम्म विभागको सूचनाअनुसार कर नबुझाउने करदाताको भ्याट दर्ता खारेज गरी ती करदाताको नाम विभागले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

निलम्बित रहेका करदातासँग खरिद वा बिक्री कारोबार नगर्न विभागले सबैसँग अनुरोध गरेको छ । निलम्बन भएका करदाताको निलम्बन अवधिसम्म निकासी र पैठारी सम्बन्धी कारोबार रोक्का गर्न विभागले भन्सार विभागलाई पत्राचार गरेको छ । दर्ता निलम्बन भएका करदाताहरूले कर विवरण पेस गरी कारोबार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी सबै अवधिको कर विवरण पेस गरेपछि निलम्बनबाट स्वत: हट्ने छन् ।

कुनै करदाताको दर्ता निलम्बन हुनु नपर्ने कुनै कारण, दाबी विरोध वा असुविधा परेमा व्यवसाय दर्ता रहेको सम्बन्धित आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालय एवं करदाता सेवा कार्यालयमा सम्पर्क गर्न पनि विभागले भनेको छ ।

प्रकाशित समय : २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु