काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्याम्पस सञ्चालनले विपन्नलाई उच्च शिक्षा हासिल गर्न सहज

1.82K
shares

“पढ्न मन छँदाछँदै नजिकमा कलेज नहुँदा उच्च शिक्षाको रहर मार्नु परेको थियो, अब घरकै सातुपिठो खाएर पढ्न पाइने भयो”, महोत्तरीको ग्रामीण परिवेशको भङ्गाहामा स्नातक क्याम्पस सञ्चालनमा आएपछि नामाङ्कन गराएकी भङ्गाहा–५ की विभा कापरले भनिन, “अब मेरो रहर पूरा हुनेभयो ।”

छ वर्षअघि ११ र १२ कक्षाको पढाइ सक्काएकी विभाले नजिकमा स्नातक तह पठनपाठन हुने क्याम्पस नभएकाले उच्च शिक्षा पढ्न नपाएको बताइन । “आर्थिक अवस्था बाहिर गएर पढ्न सक्ने थिएन, छोरी बाहिर पढ्न पठाउन अभिभावकले मान्दैनन्”, उनले भनिन ।

विभाजस्तै भङ्गाहा–३ की ममताकुमारी चौधरी थारुले ११ र १२ कक्षा सकेको पाँच वर्षपछि यसपालि स्नातक तहको अध्ययनका लागि नामाङ्कन गरिन । नजिकमा क्याम्पस नहुँदा उच्च शिक्षाको रहर मारेका अमृता चौधरी, जेसिका भुजेल, गुड्डुकुमारी चौधरी, मञ्जु साह र निशा महतोलाई पनि अहिले उच्च शिक्षाको रहर पूरा गर्ने अवसर जुटेको छ । भङ्गाहा–५ सीतापुरबजारमा भर्खरै सिद्धनाथ क्याम्पस सञ्चालनमा आएपछि नगरक्षेत्रका विपन्न परिवारका छोराछोरीलाई उच्च शिक्षा पढ्न सहज भएको हो । क्याम्पसको उद्घाटन गरिएसँगै अहिले नामाङ्कन गर्ने लहर चलेको क्याम्पस प्रमुख राजेन्द्र यादवले बताए ।

“क्याम्पस उद्घाटन भएर सञ्चालनमा आएको एक साता भयो, छात्रछात्राले धमाधम नामाङ्कन गराइरहेका छन्”, उनले भने, “अहिलेसम्म ४० जनाले नामाङ्कन गराइसकेका छन् ।”

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त क्याम्पसमा भर्ना हुनेमा छात्रभन्दा छात्रा बढी छन् । अहिलेसम्म २५ छात्रा र १५ छात्र भर्ना भएका छन् । नगरपालिका नेतृत्वले पहलकदमी लिएर धार्मिकस्थल सिद्धनाथ महादेव मन्दिरको नाममा सिद्धनाथ क्याम्पस’ स्थापना गरेको हो । हाल यहाँ शिक्षाशास्त्र सङ्कायतर्फ अङ्ग्रेजी, नेपाली र स्वास्थ्य विषयको पठनपाठन सुरु गरिएको क्याम्पस प्रमुख यादवले जानकारी दिए। आगामी वर्ष थप विषय र वाणिज्य सङ्कायको स्वीकृतिका लागि पहल गरिने उनको भनाइ छ ।

नौ वडा रहेको भङ्गाहा नगर क्षेत्रमा ४० भन्दा बढी बस्ती छन् । यहाँको जनसङ्ख्या २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ५५ हजार ३५४ छ । यद्यपि यो सङ्ख्या पछिल्ला चार वर्षभित्र ६० हजारको हाराहारीमा पुगेको नगर प्रमुख सञ्जीवकुमार साह बताउछन । नगर क्षेत्रमा ३० सामुदायिक विद्यालय छन् । जसमध्ये माध्यमिक विद्यालयको सङ्ख्या यसपालि नौ पुगेको उहाँले जानकारी दिनुभयो । तर ११ र १२ कक्षा पठनपाठन हुने एक मात्र मावि छ ।

नगर क्षेत्रमा पहिलो क्याम्पस सञ्चालनमा आएसँगै १२ कक्षा उत्तीर्ण गरेकाहरु धमाधम स्नातक तहमा भर्ना हुन थालेका छन् । यसमा छोरीबुहारीको सङ्ख्या नै बढी छ । थारु, दनुवार, बाँतर, मुसहर, कापर, चमार, धानुक र मुस्लिमसहितका जाति समुदायको सघन बसोबास रहेको भङ्गाहा नगरपालिका क्षेत्रमा क्याम्पस स्थापना र सञ्चालनले सर्वसाधारण खुसी छन् ।

हुनेखानेले छोराछोरी सहरबजार पु-याएर पढाए पनि यहाँका विपन्न बस्तीका थारु, दनुवार, बाँतर, मुसहर, कापर, धानुक र मुस्लिमसहितका समुदायका आम सर्वसाधारणका छोराछोरीले उच्च शिक्षा पढ्न पाएका छैनन् । बाँतर र मुसहर त शैक्षिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमै विभिन्न अवसरबाट वञ्चित छन् । गरिबीले सन्तान पढाउन नसकेको भङ्गाहा–४ रामनगरको दलित बस्तीका जुगल सदा मुसहर बताउछन । नगरपालिका भए पनि विकासका अवसरबाट पछि रहेको भङ्गाहा नगरपालिकाका नौ वडाका ४० बस्ती सबै नै ग्रामीण परिवेशका छन् । भङ्गाहा–५ सीतापुरका ६२ वर्षीय अमरबहादुर भुजेल अब छोराछोरीका लागि उच्च शिक्षा हासिल गर्न सहज हुने बताछन ।