global ime bank Long Banner Ad

गृहपृष्ठ सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई खुला हाफ म्याराथनको उपाधि

सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई खुला हाफ म्याराथनको उपाधि

सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई खुला हाफ म्याराथनको उपाधि

दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत शनिबार सम्पन्न खुला महिला–पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जितेका छन् ।

नेपाल खेलकुद प्रतिष्ठानले आयोजना गरेको महोत्सवको पहिलो दिन शनिबार सम्पन्न २१ किलोमिटर लामो हाफ म्याराथनमा महिलातर्फ न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेण्ड तथा पुरुषतर्फ श्रेष्ठले एक घण्टा आठ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका हुन् । महिलातर्फको हाफ म्याराथनमा नेपाली सेनाकै निर्मला केसीले एक घण्टा २७ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा निशा सार्कीले एक घण्टा २७ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन् ।

यस्तै, पाँचथरकी पुष्पा शेर्पाले एक घण्टा ३७ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै चौथो, खोटाङकी दीपा बस्नेतले एक घण्टा ४७ मिनेट १३ सेकेण्डमा दूरी पार गर्दै पाँचौँ, भोजपुरकी रुष्मा राईले एक घण्टा ५० मिनेट २७ सेकेण्डमा दूरी पार गर्दै छैटौँ, रणभीम गण मुडे ब्यारेकका अमिसा राईले एक घण्टा ५४ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्दै सातौँ तथा रणभीम गणकै पिपलसुख राईले एक घण्टा ५४ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै आठौँ भए ।

पुरुषतर्फको हाफ म्याराथनमा नेपाली सेनाकै नरेन्द्रसिं रावतले एक घण्टा नौ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा सुशील शाहीले एक घण्टा नौ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । नेपाल प्रहरीका अजितकुमार यादवले एक घण्टा ११ मिनेट २३ सेकेण्डमा दूरी पार गर्दै चौथो, तेह्रथुमका सरोज लिम्बूले एक घण्टा १२ मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै पाँचौँ, नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा १२ मिनेट ३५ सेकेण्डमा दूरी पार गर्दै छैटौँ, नेपाली सेनाकै कर्णबहादुर रोकामगरले एक घण्टा १२ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै सातौँ तथा केन्याका जोन इकिरु केलाइले एक घण्टा १३ मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै आठौँ भए ।

खुला महिला–पुरुष हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेलाई क्रमशः ७७ हजार ७७७, ५५ हजार ५५५, रु २५ हजार ५५५, रु १५ हजार ५५५, ११ हजार १११, सात हजार ७७७ र पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजयी धावकलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतले पुरस्कार वितरण गरे ।

आयोजक नेपाल खेलकुद प्रतिष्ठानका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन तथा खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

प्रकाशित समय : ०५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु