global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उनलाई अवार्ड हस्तान्तरण गरे ।

यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो । नेपाल सुटिङ सङ्घका उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसकेको छ । बागलुङकी उनले सन् २००० मा सिड्नीमा भएको २७औँ ओलम्पिक खेलमा नेपालका तर्फबाट भाग लिई राष्ट्रिय कीर्तिमान राखेको थियो ।

उनले इन्डोनेसियामा सन् १९९५ मा सम्पन्न आठौँ एसियन सुटिङ च्याम्पियनसिप, सन् १९९५ मा भारतको मद्रासमा भएको सातौँ साफ गेम, सन् १९९७ मा भारतको न्यू दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिप, थाइल्यान्डको बैंककमा सन् १९९८ मा सम्पन्न १३औँ एसियन गेम, काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ गेम, पाकिस्तानमा सन् २००० मा सम्पन्न नवौँ साउथ एसियन सुटिङ च्याम्पियनसिप, कोलम्बोमा सन् २००६ मा सम्पन्न १०औँ साउथ एसियन गेममा सहभागिता जनाएको थियो ।

केसीले नवौँ राष्ट्रिय महिला सुटिङ प्रतियोगिता प्रथम, शुभजन्मोत्सव आठौँ सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, १२औँ राष्ट्रिय सुटिङ प्रतियोगिता २०५३ मा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगिता २०५१ मा प्रथम, चौथौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०५५ मा प्रथम र पाँचौ राष्ट्रिय प्रतियोगिता दोस्रो स्थान हासिल गरेको थियो । २०५७ मा गोरखा दक्षिण बाहुबाट सम्मानित उनलाई सरकारले २०६३ उत्कृष्ट खेलाडी घोषित गरेको थियो ।

अवार्ड पाउँदा आफूले खेलका लागि बिताएको विगतप्रति गौरवको महसुस भएको बताए । केसीले खेलकुदमार्फत देशलाई चिनाउन आफूले सक्दो भूमिका निर्वाह गरेको बताए । उचित प्रशिक्षण र वातावरण पाएमा नेपाली खेलाडीले सुटिङमा अन्तरराष्ट्रिय पदक जित्न सक्ने उनको भनाइ छ ।

प्रकाशित समय : ०५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु