काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रत्ननगरमा पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु

1.43K
shares

चितवनको रत्ननगरमा ४५ दिने पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु भएको छ । सीप विकासमार्फत युवालाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

उद्योग तथा वाणिज्य कार्यालय चितवनको आयोजनाम तथा रत्ननगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा मङ्गलबारदेखि तालिम सुरु गरिएकोे कार्यालयका प्रमुख विनोद पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा पाँच महिला र २१ पुरुष सहभागी छन् । दुई जना प्रशिक्षकले ४५ दिनसम्म प्रयोगात्मक र सैद्धान्तिक रूपमा प्रशिक्षण दिनेछन् ।

सहभागीलाई तालिम पूरा अवधिभर बसेर सीप सिक्न आग्रह गर्दै उनले भने, “तालिम लिने भनेपछि पूरा समय बस्नुपर्छ, बीचमा छोडेर जानेलाई प्रमाणपत्र दिने छैनौँ ।”

तालिमको मुख्य उद्देश्य स्वरोजगार बनाउने र उद्योगी उत्पादन गर्ने रहेको भन्दै भन्दै प्रमुख पौडेलले एक जनाले एउटै प्रकारको तालिम लिएमा मात्र दक्ष बनिने बताए । उनले उद्यमशीलतामार्फत जीविकोपार्जन सहज बनाउन स्वीकृत वार्षिक बजेटबाट दिन लागिएको सीप विकास तालिम फलदायक हुने विश्वास व्यक्त गरे ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले तालिम लिएर घरमा मात्र सीमित हुन नहुने धारणा राख्दै सीप सिकिसकेपछि उद्योगी तथा व्यवसायी बन्नुपर्ने बताए । रत्ननगरमा व्यवसाय गर्न पालिकाले सहयोग गर्दै आएको जनाउँदै तालिमपछि दक्ष जनशक्तिले यही व्यवसाय गर्न चाहेको अवस्थामा सहयोग गरिने प्रतिबद्धता जनाए । नगरपालिकाले उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो र बिनाब्याज रु तीन लाखसम्म कर्जा उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले तालिमले व्यवसायीको सीप विकास गर्न सहयोग पुग्ने बताए । स्वदेशमा स्वरोजगारको वातावरण सृजना गरी युवालाई आत्मनिर्भर बनाउन यस प्रकारका तालिम उपयोगी हुने उनको भनाइ छ ।

दक्ष जनशक्ति उत्पादन गर्न, सानो लगानीबाट व्यवसायी बन्न यस सिकाइले ऊर्जावान बनाउने उनले विश्वास व्यक्त गरे । सङ्घले व्यवसायीको हित र विकाससँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । हालको अवस्थामा पुरुष सैलुनप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उनले युवालाई विदेश पलायन हुनबाट रोक्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भनाइ राखे ।