global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दाङमा मकै उत्पादन बढ्यो

दाङमा मकै उत्पादन बढ्यो

दाङमा मकै उत्पादन बढ्यो

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।

परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड–१० जातको मकै लगाउने गरिएको छ ।

सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आव २०७९/८० मा तीन हजार सात सय हेक्टरमा मकैखेती गरिएकामा आव २०८०/८१ मा तीन हजार आठ सय हेक्टरमा मकैखेती हुने गरेको हो । यसरी बर्सेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उनले बताइन । कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ । रामपुर हाइब्रिड–१० सहित अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ । यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छभने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ ।

मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् । विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताए ।

दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ । बर्खे मकै वैशाख–जेठमा, हिउँदे मकै भदौ–असोजमा र वसन्ते मकै माघ–फागुनमा लगाउने गरिन्छ । विभिन्न बालीको विशिष्टिकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यावसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा आर्थिक वर्ष २०७३/७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो । सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ ।

“यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने र किसानको बुझाई मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो”, सूचना अधिकारी कँडेलले भने, “सर्वप्रथम किसानको यस प्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो । यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्सहान अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हो ।”

अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रका विभिन्न स्थानमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भई सञ्चालनमा छन् । जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु