global ime bank Long Banner Ad

गृहपृष्ठ अल्लोबाट वार्षिक १० लाख आम्दानी

अल्लोबाट वार्षिक १० लाख आम्दानी

अल्लोबाट वार्षिक १० लाख आम्दानी

बेरोजगारी समस्याका कारण धेरैजसो युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । कतिपय व्यक्तिले स्वदेशमै गरिएको लगानीले सोचेजस्तो फाइदा नहुने बताउने गरेका छन् तर रुकुम पश्चिममा भने केही महिला उद्यमीले अल्लोे व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका–१ सल्लेमा रहेको छिपखोला अल्लो कपडाका महिला उद्यामीले अल्लो व्यवसायबाट राम्रो आम्दानी गरेका हुन् । अल्लो व्यवसायबाट आफू पनि रोजगारी बन्ने र अरुलाई समेत रोजगारी दिने उद्देश्यले पाँच वर्षदेखि अल्लो व्यवसाय सञ्चालन गरिएको अल्लो कपडा उद्योगकी सञ्चालिका तीर्था पुनको भनाइ छ । उनका अनुसार पछिल्लो समय अल्लो कपडाको माग सोचभन्दा राम्रो बन्दै गएकाले अल्लो कपडा बिक्रीबाट वार्षिक १० लाख रूपैयाँसम्मको आम्दानी हुने गरेकोे बताइएको छ ।

बर्सेनी ग्रामीण भेगको जङ्गलमा खेर गइरहेको अल्लो संकलन र सदुपयोगबाट यहाँका महिला अल्लो व्यवसायमा लागेका छन् । विशेषगरी रुकुम पूर्वको ग्रामीण भूभागमा अल्लोको उत्पादन र संकलन बढी हुने गर्दछ ।

अल्लोको रेसाबाट बनाइएका कपडा चम्किलो र टिकाउ हुने भएकाले अल्लो कपडाको माग बर्सेनि बढ्दै गएको छ । अल्लो व्यवसायबाट राम्रो आम्दानी हुने देखिएपछि रुकुम पूर्वको रुकुमकोटमा पनि छिपखोला अल्लो कपडा उद्योगले केही महिलालाई रोजगारी दिएर अल्लो व्यवसाय उद्योग सञ्चालनमा ल्याएको छ ।

त्यस्तै यहाँको सल्लेस्थित अल्लो कपडा उद्योगमा पनि हाल दुई महिलाले रोजगारी पाएका छन् । अल्लो उद्योगमा रोजगारी पाएसँगै घरपरिवार धान्नसमेत सजिलो भएको उद्योगमा आबद्ध निमा पुनको भनाइ छ ।

आयआर्जनको मुख्य स्रोत मानिएको अल्लो कपडाको प्रयोगले जाडोमा तातो र गर्मी समयमा न्यानो हनुका साथै चर्मरोग नियन्त्रण तथा उच्च रक्तचाप सन्तुलन हुने विश्वास रहेको छ । यहाँको अल्लो उद्योगले विभिन्न ठाउँबाट अल्लोको रेसा प्रतिकेजी एक हजार रूपैयाँका दरले खरिद गर्दै आएको छ ।

विशेषगरी अल्लो कपडा कोट, झोला र टोपीका लागि प्रयोगमा आउने गरेको छ । यहाँ बनाइएको अल्लो कपडा जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । (रासस)

प्रकाशित समय : १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु