गृहपृष्ठ इन्टरलक इँटाको माग बढ्दो
इन्टरलक इँटाको माग बढ्दो
यहाँ इन्टरलक इँटाको माग बढ्दै गइरहेको छ । मंगलसेन नगरपालिका–३ मा युवा उद्यमी एकेन्द्र बोगटीले पहिलोपटक यहाँ सञ्चालन गरेको सो उद्योगबाट उत्पादित इँटाको माग अत्याधिक बढ्दै गइरहेको जनाइएको छ ।
बहुउपयोगी रहेको इँटाको सदरमुकाम मङ्गलसेनमा निर्माण हुने निजी सार्वजनिक भवनमा सफल प्रयोग भइसकेको उनले जानकारी दिए । करिब पाँच लाख रुपैयाँको लगानीमा २०७६ असार १८ गतेदेखि सञ्चालन भएको उद्योगबाट हालसम्म २३ हजार इँटा उत्पादन भई बिक्री भइसकेको छ । कारोवार झण्डै १२ लाख रुपैयाँ रहेको जनाइएको छ ।
बालुवा, सिमेन्ट र माटोको प्रयोगबाट निर्माण गरिने इँटा घर निर्माणमा सबै दृष्टिकोणले राम्रो रहेको बताइएको छ । इँटा उद्योग सञ्चालनका लागि तीन लाख ६५ हजार रुपैयाँ मेशिन खरिदमा लागेको र बाँकी ट्रष्ट निर्माणमा गरी करिब पाँच लाख रुपैयाँ खर्च भएको सञ्चालक बोगटीले बताए ।
छिटोछरितो, आकर्षक, भूकम्प प्रतिरोधी र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि इँटा निकै उपयोगी छ । इँटा उत्पादन हुनुपूर्व नै माग आउने गरेकाले मागअनुसार पूर्ति गर्न नसकिएको उनले जानकारी दिए ।
रातो इँटाभन्दा तीन भाग ठूलो इँटाको मूल्य प्रतिइँटा ५५ देखि ६० रुपैयाँसम्म पर्ने बताइएको छ । इँटाको प्रयोगबाट घर निर्माण गर्दा प्लास्टर गर्नु नपर्ने, जाडोमा तातो र गर्मीमा चिसो हुने र छिटोछरितो घर निर्माण गर्न सकिने उनको भनाइ छ ।
सो उद्योगमा अहिले तीनजनाले रोजगारी पाएका छन् । अहिले दैनिक २५० इँटा उत्पादन भइरहेको छ । इँटाको गुणस्तर मापन भइसकेको र सरकारी प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्लाका स्थानीय तहमा निर्माण हुने भौतिक संरचनामा इँटा प्रयोग गर्न मिल्ने जनाइएको छ ।
प्रकाशित समय : १४:४० बजे


















