गृहपृष्ठ पोलिस प्रधानमन्त्रीद्वारा म्याक्रोनको ‘अत्यन्त आशाजनक’ आणविक टिप्पणीको प्रशंसा
पोलिस प्रधानमन्त्रीद्वारा म्याक्रोनको ‘अत्यन्त आशाजनक’ आणविक टिप्पणीको प्रशंसा
पोलिस प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार ब्रसेल्समा एक महत्त्वपूर्ण नेतृत्व शिखर सम्मेलनअघि बोल्दै युरोपेली साझेदारहरूलाई पेरिसको आणविक छाता विस्तार गर्ने सम्भावित प्रस्तावमा फ्रान्सको स्थिति ‘अत्यन्त आशाजनक’ रहेको बताएको छ ।
युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेताहरू युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग वार्ताका लागि भेला भएका छन् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई सैन्य सहायता रोकेसँगै युद्धग्रस्त देशलाई समर्थन सुदृढ गर्ने लक्ष्य राखेका छन् ।
बुधबार एक भाषणमा राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सको आणविक सुरक्षा अन्य युरोपेली राष्ट्रहरूमा विस्तार गर्नेबारे छलफल गर्ने घोषणा गरेको थियो ।
“फ्रान्सको यो तत्परता, यो अत्यन्त आशाजनक कुरा हो”, पोलिस प्रधानमन्त्री डोनाल्ड टस्कले ब्रसेल्समा पत्रकारहरूलाई भने “हामीले यो प्रस्तावलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”
उनेले रुसविरुद्ध युरोपको रक्षा बलियो बनाउन पुनः आह्वान गरे ।
“युरोपमा हाम्रा सबै क्षमताहरूको समन्वय गर्नु र वास्तवमा एउटा राम्रो समन्वित सैन्य शक्ति निर्माण गर्नु हाम्रो प्राथमिकताहरू मध्ये एक हुनुपर्छ । यसले हामीलाई रुसप्रति स्पष्ट फाइदा दिन सक्छ”, उनले भने, “युरोपले यो चुनौती, यो हतियारको दौड लिनुपर्छ र यसमा विजयी हुनुपर्छ ।”
नाटो सदस्य र आफ्नो छिमेकी युक्रेनको प्रमुख सहयोगी पोल्यान्डले पनि रूसी एक्सक्लेभ कालिनिनग्राद र मस्कोको सहयोगी बेलारुससँग सीमा साझा गर्दछ ।
सम्भावित जर्मन चान्सलर फ्रेडरिक मेर्जले सुरक्षाको त्यो छाता विस्तार गर्न ‘ऐतिहासिक’ आह्वान गरेपछि म्याक्रोनले फ्रान्सको आणविक प्रतिरोधलाई अन्य युरोपेली राष्ट्रहरूमा विस्तार गर्ने बहस खोल्ने बताए ।
जर्मनीको चुनाव जितेको दक्षिणपन्थी पार्टीले गत महिना रुसबाहेक युरोपको एक मात्र आणविक शक्ति फ्रान्स र बेलायतसँग ‘आणविक साझेदारी’ मा छलफल गर्न चाहेको बताएको थियो ।
अप्रिलमा पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले आफ्नो देश नाटोको आणविक हतियारको आयोजना गर्न तयार रहेको बताएको थियो ।
जवाफमा मस्कोले ‘आफ्नो सुरक्षा सुनिश्चित गर्न’ कदम चाल्ने चेतावनी दिएको थियो ।
प्रकाशित समय : १९:२७ बजे



















