गृहपृष्ठ कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छः सहसंयोजक नेपाल
कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छः सहसंयोजक नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएको छ ।
अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताए ।
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पक्षबारे समीक्षा गर्दै सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका कारण बेलाबेलामा कम्युनिष्ट घटकहरूबीच विभाजन आउने गरेको उल्लेख गरे। उनले देश र जनताको हितमा काम गर्न विगतका टुटफुटबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।
सहसंयोजक नेपालले पार्टीको एकता महाधिवेशनअगावै वडादेखि प्रदेशसम्म तोकिएको समयमा सबै जनवर्गीय सङ्गठनलाई भेला तथा अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत दिए ।
उनले सामाजिक रुपान्तरणका लागि महिला वर्गको सशक्तीकरण अपरिहार्य रहेको र त्यसमा पार्टी सङ्गठन क्रियाशील रहेको विचार व्यक्त गरे ।
भेलाले केन्द्रीय समिति, सचिवालय, कार्यालय गठन गर्नुको साथै संयोजक र सहसंयोजक चयन गर्ने जनाइएको छ ।
प्रकाशित समय : २०:०८ बजे



















