गृहपृष्ठ ४४ रुपैयाँमा किनेको पेट्रोल १०६ मा बेच्छ निगम
४४ रुपैयाँमा किनेको पेट्रोल १०६ मा बेच्छ निगम
नेपाल आयल निगमले प्रतिलिटर ४६ रुपैयाँ २२ पैसामा पेट्रोल किनेर उपभोक्तालाई प्रतिलिटर १०६ रुपैयाँमा बेच्ने गरेको पाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको अहिले प्रतिब्यारेल ३० अमेरिकी डलरमा झर्दा पनि निगमले उपभोक्तालाई १२० ब्यारेल हुँदाकै मूल्यमा पेट्रोल बेचिरहेको हो । हालैमात्र निगम व्यवस्थापनले पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाएजस्तो गरेर उपभोक्तालाई झुक्याएको थियो ।
जबकी, उसको खरिद मूल्यमा विगत दुई महिनामा प्रतिलिटर ११ रुपैयाँले कमी आएको छ । माघ २० मा निगमले भारतीय आयल कर्पोरेसनसँग प्रतिलिटर ५४ रुपैयाँ ७५ पैसाका दरले किनेको थियो ।
सरकारले राजस्वमा भएको कमी पूर्ति गर्न पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर थपेर प्रतिलिटर १० रुपैयाँ पु¥याएको छ । थपिएको पूर्वाधार करबाहेक नै निगमले आफ्नो नाफा प्रतिलिटर २ रुपैयाँले थपिएर प्रतिलिटर साढे ७ रुपैयाँ पुग्ने गरी नयाँ मूल्य कायम गरेको पाइएको हो ।
निगमले उपभोक्तालाई किनेकोभन्दा दोब्बरभन्दा मूल्यमा बेच्दा सबै नाफा आफैले राख्ने भने होइन । पेट्रोलियम पदार्थका उपभोक्ताबाट सरकारले प्रतिलिटर ४४ रुपैयाँ कर लिन्छ ।
उपभोक्ताले एक लिटर पेट्रोल किन्दा १५ रुपैयाँ २३ पैसा भन्सार, ४ रुपैयाँ सडक मर्मत सम्भार शुल्क, १० रुपैयाँ पूर्वाधार विकास कर, १ रुपैयाँ ५० पैसा प्रदूषण शुल्क, १ रुपैयाँ ६ पैसा मूल्य स्थिरीकरण कोष शुल्क र १२ रुपैयाँ १९ पैसा मूल्य अभिवृद्धि कर (भ्याट) सरकारलाई बुझाइरहेका छन् ।
आयल निगमले विगत तीन वर्षदेखि उपभोक्तासँग अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको अवस्थामा यहाँ मूल्य समायोजन नहुँदा पर्नसक्ने भारको व्यवस्थापनका लागि भनेर मूल्य स्थिरीकरण कोषका नाममा रकम संकलन गर्दै आएको छ ।
निगमले २०७३ साल जेठदेखि यो कोषमा उपभोक्ताबाट रकम संकलन गर्न थालेको हो । निगमको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनअनुसार उक्त वर्षमात्र मूल्य स्थिरीकरण कोषमा ३ अर्ब ४० करोड ८२ लाख रुपैयाँ जम्मा गरेको थियो ।
यसलाई औसत आधार मान्दा हालसम्म निगमले मूल्य स्थिरीकरण कोषका नाममा हालसम्म साढे १० अर्ब रुपैयाँभन्दा बढी बैंकका विभिन्न खातामा राखेर ब्याज आर्जन गरिरहेको छ भने सही मूल्य समायोजन नगरी उपभोक्ताबाट उल्टै थप नाफा जम्मा गरेको पाइएको छ ।
निगमले अहिले पेट्रोलियम व्यापारी (डिलर)लाई उपभोक्ताबाटै असुल हुने गरी प्रतिलिटर ४ रुपैयाँ ७ पैसा नाफा दिन्छ भने आफ्नो प्रशासनिक खर्चबापत प्रतिलिटर ६७ पैसा र अहिल्लो पटक लिएका ऋणको ब्याज तिर्न भनेर प्रतिलिटर १५ पैसा उपभोक्ताबाटै असुल्छ ।
निगमले अन्तर्राष्ट्रिय बजारको खरिद मूल्यअनुरुप यहाँ मूल्य समायोजन नगरी हाल पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ४८ पैसा, डिजलमा १० रुपैयाँ २५ पैसा र गरिब वर्गले प्रयोग गर्ने मट्टीतेतलबाट २९ रुपैयाँ ९४ पैसा नाफा कमाउँदै आएको छ ।
यस्तै, हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर ९ र अन्तर्राष्ट्रियमा ४६ रुपैयाँ नाफा आर्जन गरिरहेको छ ।
नयाँ कायम गरिएको मूल्यबाट १५ दिने अवधिमा ५४ करोड रुपैयाँ नाफा कमाउने निगमको विवरणमा उल्लेख छ ।
यो नाफा गत माघको मध्यमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ २४ पैसा, डिजलमा ६ रुपैयाँ ६६ पैसा र मट्टीतेतलबाट २९ रुपैयाँ ९४ पैसा थियो । उक्त १५ दिने अवधिमा निगमले ३० करोड १३ लाख नाफा आर्जन गरेको थियो ।
यो पनि पढ्नु होस्ः
कोभिड-१९ को विश्वव्यापी प्रभावले तेलको मूल्यमा उच्च गिरावट
प्रकाशित समय : १९:०४ बजे



















