global ime bank Long Banner Ad

गृहपृष्ठ नसर्ने रोगले बढ्यो दाँतको अखेटो खिइने समस्या

नसर्ने रोगले बढ्यो दाँतको अखेटो खिइने समस्या

नसर्ने रोगले बढ्यो दाँतको अखेटो खिइने समस्या

पहिले दाँत तथा मुखको सफाइ नपुगेर गिँजामा संक्रमण हुन्थ्यो। संक्रमित गिँजासँगै दाँत किराले खाने समस्या पनि बढ्थ्यो। पछिल्लो समयमा गिँजामा हुने संक्रमण र नसर्ने रोगले हुने संक्रमणका कारण दाँतको अखेटो खिइने समस्या बढेको दन्त विशेषज्ञले जनाएका छन्।

‘पहिला मुखको सफाइ नपुगेर हुने संक्रमणले गिँजा र दाँत बिग्रन्थ्यो, अहिले नसर्ने रोगले दाँतको सकेट (अखेटो) नै खिइने समस्या बढेको छ’, वीर अस्पताल डेन्टल विभागका प्रमुख डा. प्रमोद कोइरालाले भने। चिनी चक्लेट, मैदाका खाना खाएर तुरुन्तै मुख सफा नगरेमा केही घन्टादेखि एक दिनभित्रै मुखमा कीटाणु उत्पन्न भई दाँतमा एसिड (अम्लीय पदार्थ) उत्पादन हुन गई दाँत खिइन्छ या गिँजा पाक्छ। गिँजा संक्रमित हुँदै गएमा दाँतको अखेटो पनि खिइन्छ। अखेटो खिइएपछि दाँत झनै झर्छ।

दन्त विशेषज्ञका अनुसार दाँतको अखेटो खिइनुअघि गिँजा पाक्ने, दाँत खिइने, दाँतको बिचमा खाली भाग हुने जस्ता लक्षण देखिन्छन। दाँत अडिने अखेटो खिइएपछि दाँत हल्लिएर झर्छ। यस्ता लक्षण देखिनेबित्तिकै उपचारमा पुगेमा समयमै यस्तो समस्या नियन्त्रण गर्न सकिने विभागका प्रमुख डा. कोइराला बताउँछन्।

वीर अस्पतालमा यस्ता बिरामी प्रतिदिन नयाँ–पुराना गरी दैनिक औसत ४० जना आउने गरेको विभागका प्रमुख डा. कोइराला बताउँछन्। यो हिसाबले मासिक एक हजार ४० जना दाँतको अखेटो खिइने समस्या लिएर आउँछन्।

उनका अनुसार धेरैजसो बिरामी ढिला गरी उपचारमा आइपुग्दा दाँत नै गुम्छ या थप जटिल समस्या हुन्छ। पहिलेका मानिसले राम्रोसँग दाँत, मुख र गिँजाको सफाइ नगर्दा यस्ता समस्या बढी आउँथ्यो भने पछिल्लो समय मानिसमा बढ्दै गएको नसर्ने रोगका कारण गिँजामा संक्रमण हुन गई दाँतको अखेटो खिइन्छ।

मधुमेह, हाइपोथाइरोइड, उच्च रक्तचाप, उच्च रक्तचापको औषधी सेवन, मधुमेह, मुटु तथा मिर्गौला जस्ता रोगका कारणले पनि गिँजामा संक्रमण भई दाँतको अखेटो खिइने समस्या बढेको देखिन्छ। नसर्ने रोगका कारणले दाँत छोड्ने समस्या हुने बिरामी पनि ढिला मात्र आइपुग्दा दाँत गुमाउनुपरेको डा. कोइराला बताउँछन्। उनका अनुसार उच्च रक्तचाप र मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा प्रतिरक्षा बढाउने औषधी दिइएको हुन्छ।

प्रकाशित समय : १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु