गृहपृष्ठ स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार
स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई द्रुत कार्यान्वयनमा जुटेको छ । गत पुस २९ गते सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ राजपत्रमा प्रकाशित भएपछि मन्त्री दामोदर भण्डारीले द्रुत कार्यान्वयनका लागि तीव्रता दिएको हो ।
मन्त्रालयमा आज निजी क्षेत्रसँग सो सम्बन्धमा छलफल गरेको छ । उक्त छलफलमा निजी क्षेत्रका प्रतिनिधिले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयबाट भएको पहलकदमीको स्वागत गरेका छन् ।
मन्त्री भण्डारीले निजी क्षेत्रका प्रतिनिधिसँग यसअघि पनि स्वदेशी प्रयोगसम्बन्धी निर्देशिका माथि सुझाव लिनुभएको थियो । स्वदेशी वस्तु प्रयोगसम्बन्धी गठित निर्देशिका समितिको बैठकपश्चात् छिट्टै कार्यान्वयनको चरणमा लगिने बताए ।
स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयनका लागि निजी क्षेत्रको दबाब आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ थियो । उहाँले स्वदेशी वस्तुको प्रयोगले गुणस्तरीय वस्तु उत्पादन हुनुका साथै नेपाली उत्पादकको व्यवसाय पनि फस्टाउने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे।
सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, सहसचिव जीतेन्द्र बस्नेत, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा राष्ट्रिय व्यवसायी पहलका अध्यक्ष कुशकुमार जोशी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवाली, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मलोहोत्रालगायत निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो ।
स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका राजपत्रमा प्रकाशित भएपछि उद्योग मन्त्रालयले देशभरका सार्वजनिक निकायमा परिपत्र गरिसकेको मन्त्रालयका सहसचिव बस्नेतले जानकारी दिए।
प्रकाशित समय : २०:१२ बजे