global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘ऐन, कानुनमा भएका कमजोरी सच्याइने’

‘ऐन, कानुनमा भएका कमजोरी सच्याइने’

‘ऐन, कानुनमा भएका कमजोरी सच्याइने’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ऐन, कानुनमा भएका कमजोरी सच्याइने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले कतिपय कुरामा कानुन संशोधनको आवश्यकता महसुस भएको र ती विषय सच्याउँदै जानुपर्नेमा जोड दिए । समिति अन्तर्गतका उपसमितिले कानुन कार्यान्वयनको अवस्थाका विषयमा गरिएको अध्ययन प्रतिवेदनले औँल्याएका कुरामा आफू गम्भीर रहेको र प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गरिने उनले बताए ।

मन्त्री चौरसियाले भने “विवाहको उमेर २० वर्ष रहेको अहिलेको कानुन संशोधन गर्नुपर्ने कुरा धेरै क्षेत्रबाट उठेको छ, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी समस्या छ, शिक्षाको पहुँच कम भएको क्षेत्रमा समस्या रहेको देखिन्छ, यसमा आवश्यक सुधार गर्न जरुरी छ ।”

संसदीय उपसमितिले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्नुपर्ने माग आएको तथा यसतर्फ समिति र सरकार गम्भीर हुन जरुरी रहेको निष्कर्षसहितको प्रतिवेदन आज समितिलाई बुझाएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिले सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र सङ्घीय संसद्ले बनाएका ऐन, कानुन कार्यान्वयनका चुनौतीबारे अन्तरक्रिया कार्यक्रम गर्न उपसमिति गठन गरेको थियो ।

समितिका सभापति विमला सुवेदी समक्ष समितिका सदस्य पुष्पबहादुर शाहले संसद्ले बनाएका ऐन-कानुन कार्यान्वयनका चुनौतीका विषयमा कैलालीको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

यस्तै सभापति सुवेदी समक्ष समितिका सदस्य रञ्जुकुमारी झाले सङ्घीय संसद्ले बनाएको ऐन-कानुन कार्यान्वयनका चुनौतीका विषयमा धनुषाको जनकपुरधाममा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ हस्तान्तरण गरिन ।

यसैगरी समितिका सदस्य पूर्णबहादुर घर्तीले सङ्घीय संसद्ले बनाएको ऐन-कानुन कार्यान्वयनका चुनौतीका विषयमा दाङको देउखुरीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ सभापति सुवेदी समक्ष हस्तान्तरण गरेका थिए।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु