गृहपृष्ठ उखु किसानले पाए भुक्तानी
उखु किसानले पाए भुक्तानी
मुलुकका विभिन्न जिल्लामा उखु किसानले भुक्तानी नपाएका खबर आइरहँदा महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले भने नियमित तालिकामा भुक्तानी दिइरहेको छ ।
यसपाली जारी क्रसिङ सिजनमा पुस तेस्रो साताभित्रै उद्योगले पाँच पटक गरेर किसानलाई ४५ करोड ६४ लाख ६१ हजार भुक्तानी गरिसकेको जनाएको छ । गत मङ्सिर २६ गते उखु क्रसिङ (उखु पेल्न) थालेको उद्योगले त्यसयता शनिबारसम्म आठ लाख ४५ हजार ७० क्वीन्टल उखुको भुक्तानी दिइएको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले जानकारी दिए ।
यस सिजनमा उद्योगले ३५ लाख क्वीन्टल उखु क्रसिङको लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्वीन्टल बढी हो । यसपटक सरकारले पनि उखु क्रसिङ अगावै मूल्य निर्धारण गरेपछि भुक्तानीमा सहज भएको शुक्लाको भनाइ छ । सरकारले उखुको मूल्य प्रतिक्वीन्टल रु पाँच सय ८५ निर्धारण गरेको छ । यो गत वर्षभन्दा २० बढी हो । उद्योगले दिने उखुको मूल्यबाहेक किसानलाई सरकारले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने जनाइएको छ ।
उद्योगले समयमै भुक्तानी दिए पनि किसानले राहत महसुस गरेका छन् । चार वर्ष पहिलेसम्म भुक्तानीका लागि वर्ष दिनसम्म भौतारिनुपर्ने अवस्था अन्त्य हुनु निकै सकारात्मक भएको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताए । “उद्योगले भुक्तानी सहज बनाएको छ तर मूल्यमा किसान ठगिएका छन् र उत्पादक किसानले यसपटक गत वर्षको मूल्यमा १५ प्रतिशत थपको माग गरेका थिए तर सरकारले प्रतिक्वीन्टल २० मात्र थपेको छ । हामी अझै यसबारे सरकारले पुनःविचार गरिदेओस् भन्नेमा छौँ”, उनले भने ।
भुक्तानी सहज बनेपछि यहाँ उखुखेती गर्ने क्षेत्रफल पनि बढ्दै गएको छ । १५ वर्ष पहिले जिल्लामा १५ हजार बिघा पुगेको खेती भुक्तानी झमेलाले घट्दै गएर आव २०७७/७८ मा पाँच हजार बिघामा झरेको थियो । यद्यपि भुक्तानी क्रमशः सहज बन्दै जाँदा खेती बढ्दै गएर यसपालि नौ हजार बिघा पुगेको जनाइएको छ ।
प्रकाशित समय : २१:५१ बजे